Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने


0
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यामबाट मात्रै मुलुकलाई समृद्ध बनाउने आधार तयहुने उल्लेख गर्दै सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सम्वद्ध सबै पक्षलाई ध्यान केन्द्रित गर्न पनि आग्रह गरे ।

सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेटले कार्यक्रम निर्धारण गर्ने पूरानो परम्पराको अन्त्य गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्यायो ।

‘सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउनुपर्ने भएको छ,’ मन्त्री गुरुङले भने,‘सामाजिक रुपान्तरणको माध्यामबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने अवधारणा अघि सार्नु परेको हो ।’

मन्त्री गुरुङले सामाजिक अन्धविश्वास र कुरीतिको रुपमा रहेका छाउपडी प्रथा, बाल विवाह, बोक्सी, दाईजोलगायतका कुप्रथाको अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जोड दिइएको पनि स्पष्ट पारे ।

उनले सामाजिक क्षेत्रको नीति, कार्यक्रम र बजेट कमजोर हुँदा कोभिड–१९ जस्ता महामारीबाट बच्ने अभियान संचालन गर्न समस्या भईरहेको उल्लेख गर्दै त्यसबाट शिक्षा र प्रेरणा लिएर अघि बढनुपर्ने पनि बताए ।

मन्त्री गुरुङले राष्ट्रिय कलंकको रुपमा रहेको छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि सरकारले नेपाललाई मर्यादित महिनावारीको देशको पहिचान दिलाउने गरी योजना तय गरेको पनि स्मरण गराए ।

उनले महिला हिंसा हुन नदिने दृढता पनि व्यक्त गरे । बैठकमा सांसदहरुले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।