Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पोखरामा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिमा तनाव, स्थानीय र प्रहरीबीच झडप


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, जेठ २६ । कोरोनाभाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको चर्को विरोधकाबीच सोमबार अन्त्येष्टि गरिएको छ । उनको आइतबार राति मृत्यु भएको थियो ।

अन्त्येष्टिको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । सोक्रममा पाँचजना घाइते भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाका ती पुरुषलाई चार दिनअघि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । आइतबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

नेपाली सेनाको शव व्यवस्थापन तालिमप्राप्त टोलीले पोखरा महानगरपालिका-११ र २० मा पर्ने सेती किनार रिठ्ठाघाटमा खाल्डो खनेर सोमबार साँझ शव गाडेको हो ।

भारतबाट वालिङ फर्केका ती पुरुषलाई वालिङमा ‘क्वारेन्टिन’मा राखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि जेठ २२ जेठ गते पोखरा ल्याइएको थियो ।

सोमबार बिहानैदेखि शव व्यवस्थापनका लागि ठाउँ खोजी गरिएको थियो । स्थानीयले विरोध जनाउँदा समस्या उत्पन्न भएको थियो ।

कोरोना संक्रमितको शव व्यवस्थापन समिति संयोजकसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद ढकालले सोमबार बिहान हरियो खर्क अस्पतालनजिक गाड्ने भनेपनि स्थानीयले विरोध जनाए ।

विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी पनि फर्किएको थियो । स्थानीयले शव गाड्दा संक्रमण फैलिनसक्ने भन्दै विरोध गरेका हुन् ।

पछि सेती किनार रिठ्ठाघाटमा शव गाड्नका लागि खाल्डो खनिसक्दासमेत स्थानीयले विरोध गरे । प्रहरीले भीड तितरबितर पार्नेक्रममा लाठीचार्ज गर्‍यो ।

लाठीचार्जबाट पोखरा-११ का वडाध्यक्ष मोहन बास्तोलासमेत सामान्य घाइते छन् ।

सोक्रममा प्रहरीले आठजनालाई नियन्त्रण लिएको छ ।

यसैबीच, सोक्रममा भिडियो खिचेको भन्दै प्रहरीले पत्रकारको क्यामेरा नियन्त्रणमा समेत लियो ।

नेपाल फोटो पत्रकार संघ कास्कीका उपाध्यक्ष नारायण आचार्यले भिडियो खिचेको भन्दै प्रहरीले उनको क्यामेरा एक घन्टासम्म नियन्त्रण लिएको थियो ।