दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, जेठ २६ । नेपालमा कोरोना संक्रमण तीव्रगतिमा फैलिरहँदा महामारी नियन्त्रणको अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा पनि संक्रमण भेटिएको छ ।
यसले महामारी नियन्त्रणमा थप चुनौती थपिएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि ‘लकडाउन’ जारी गरेपछि सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र महामारीबाट बच्न विभिन्न उपायहरु सुझायो ।
लकडाउन सुरु भएपछि सुरक्षाकर्मीको सडकमा बाक्लो उपस्थिति रह्यो, लकडाउन उल्लंघन गर्नेको चेकजाँच र उनीहरुलाई नियन्त्रणमा लिन ।
यो अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही स्थानमा नेपाली सेनासमेत खटियो । मास्क र पन्जाको भरमै पनि उनीहरु महामारीविरुद्धको मोर्चामा दिनरात खटिइरहे ।
तर, देशमा संक्रमितको संख्या बढ्दै जाँदै तीनै निकायका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।
महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा सडक, सीमानाका, ‘क्वारेन्टिन’, शव व्यवस्थापनजस्ता कार्यमा खटिने सुरक्षाकर्मीका हालसम्म ५१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ जना प्रहरी अधिकृत र जवान संक्रमित भएका छन् ।
प्रदेश नम्बर–२ मा मात्रै २२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रदेशमा प्रहरीका पाँचजना मर्यादापालकमा समेत संक्रमण देखिएको छ ।
संक्रमित प्रहरीमध्ये १४ जना निको भएका छन् ।
उता, नेपाली सेनाका १३ जनामा पनि संक्रमण पुष्टि भएको सैनिक मुख्यालयले जनाएको छ । चारजनाले भने कोरोना जितेका छन् ।
यस्तै, सशस्त्र प्रहरीका पाँचजनामा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा दुईजना, काठमाडौंमा एकजना, तेह्रथुममा एकजना, झापामा एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो ।
पेसागत जिम्मेवारी र दायित्वअनुसार धेरै व्यक्तिसँग सम्पर्कमा रहिरहनुपर्ने सुरक्षाकर्मीले पर्याप्त सुरक्षा सावधानी अपनाउन सकेको देखिँदैन, कोराना महामारीविरुद्ध खटिँदा ।
केही समयअघि सुरक्षाकर्मीलाई केही संख्यामा ‘पीपीइ’को व्यवस्था नगरिएको पनि होइन । तर, त्यो पर्याप्त भने छैन ।
केही सुरक्षाकर्मी त मास्कमात्रै लगाएर कसरी सुरक्षित रहन सकिन्छ भन्ने गुनासोसमेत गर्छन् ।
अहिले सुरक्षाकर्मी पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउनु आवश्यक छ भने उनीहरुले पनि हेलचेक्र्याइँ नगरी विशेष सावधानी अपनाउनु उत्तिकै जरुरी देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्