Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


संचारकर्मी र संचार क्षेत्रप्रति सरकार गम्भीर नबनेकोमा प्रेस युनियनको आपत्ति


0
Shares

काठमाडौं । लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्र कोरोना भाइरसको महामारीको चपेटामा पर्दासमेत सरकार गम्भीर नबनेकोप्रति गम्भीर ध्यानकर्षण गराएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संचारकर्मी तथा संचार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

युनियनले सञ्चारकर्मी आफ्नो पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमासमेत जोड दिएको छ ।

नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिविरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास भए पनि झन्डै दुईतिहाइको सरकार अहिलेको जटिल अवस्थाप्रति बेखबर र बेपर्वाह हुनु लज्जाजनक भएको जारी विज्ञप्तिमा छ ।

स्थापित र ठूला कहलिएका सञ्चार प्रतिष्ठानले समेत आर्थिक अभाव देखाउँदै सञ्चारकर्मी, कर्मचारी कामदारलाई समयमा न्यूनतम पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न दबाब दिने, जागिरबाटै हटाउने गरेको अवस्थाप्रति प्रेस युनियन सम्बद्ध पक्षको गम्भिर ध्यानाकर्षण गराएको विज्ञप्तिमा जनाइएको छ ।

युनियनले नेपाली सञ्चार क्षेत्रको संवेनशीलताप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को पनि ध्यानाकर्षण गराएको जनाएको छ ।