Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


म्यानमारबाट आएकाको पिसिआर नेगेटिभ, आजै ‘होम क्वारेन्टिन’मा


0
Shares

काठमाडौं, जेठ २३ । म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै (शुक्रबार) होम क्वारेन्टिनमा पठाएको छ ।

बिहान ११ बजे काठमाडौं आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो ।

म्यानमारबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टिनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । शुक्रबार (आज) म्यानमारबाट आउनेमा वाग्मती प्रदेशका १७ जना थिए ।

गण्डकी प्रदेशका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना छन् ।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । उनीहरुलाई शुक्रबार म्यानमार सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यानमार गएका छन् ।

शुक्रबार अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (युएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ ।

विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ । रासस