गृष्मा राजभण्डारी, खिलनाथ ताजपुरिया, राजेन्द्र नापित र भरत केसी (इमेज)
काठमाडौं, जेठ २३ । विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन थालिएको छ । पहिलो चरणमा म्यानमारबाट २६ जनालाई शुक्रबार स्वदेश ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै नेपाली सेनाको जिम्मा लगाइएका उनीहरुलाई सेनाले ‘होल्डिङ एरिया’मा पुर्याएको छ ।
सेनाले नै होल्डिङ एरियाबाट सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने छ ।
सरकारले विदेशमा रहेका नेपालीहरुलाई विमान ‘चार्टर’ गरेर नेपाल ल्याउन थालेको हो । पहिलो चरणमा म्यानमारबाट शुक्रबार २६ जनालाई ल्याइएको छ ।
अघिपछि विदेशबाट नेपाल फर्कनेक्रममा आफन्तको भीड लाग्ने विमानस्थलमा कोरोना महामारीका कारण सावधानी अपनाउनुपर्ने हुनाले उनीहरुलाई लिन पुगे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोली । न अनुहारमा मुस्कान न त हर्ष नै । अलि–अलि अल्मलिएकोजस्तो भाव उनीहरुको अनुहारमा झल्कन्थ्यो ।
स्वदेश फर्काइएका उनीहरुलाई सेनाले आ–आफ्नो प्रदेशको बोर्ड टाँसिएका गाडीमा राखेर ‘एस्कर्टिङ’ गरी होल्डिङ एरियासम्म पुर्याइएको थियो ।
होल्डिङ एरियामा पुगेका नेपालीहरुलाई सामाजिक दूरी कायम गराइ सामान्य चेकजाँच गरी विश्रामका लागि राखिएको हो ।
चेकजाँचका लागि नेपाली सेना र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य टोली खटाइएको थियो ।
लामो समयको प्रयासपछि नेपाल फर्कन पाएकोमा भने उनीहरु दंग छन् । म्यानमारबाट फर्कनेहरुमा महिलाहरुको संख्या बढी थियो ।
यसरी स्वदेश आउन होल्डिङ क्षेत्रमा पुर्याइएकाहरुलाई निःशुल्क खाजाको व्यवस्था गरी केहीबेर आराम गराएपछि उनीहरुलाई स्थायी ठेगाना हेरेर स्थानीय तहसम्म पुर्याइने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
स्वदेश आउन चाहनेको संख्या हजारौं भएपनि सरकारले पहिलो चरणमा २५ हजारजनालाई ल्याउने गरी कार्यविधि बनाएको छ ।
त्यसमा पनि सुरुका खेपमा ठूलो समस्यामा परेकाहरुलाईमात्रै ल्याइँदै छ । जसमा विभिन्न मुलुकमा सजाय माफी पाएका, ‘डिटेन्सन सेन्टर’मा रही नेपाल आउनैपर्ने अवस्थाका पाँच हजार बढी छन् ।
दोस्रो प्राथमिकतामा जुनसुकै कारणले बहिर्गमन भिसामा परेका र काजकिरियाका लागि आउनुपर्ने बाध्यता भएकाहरुलाई राखिएको छ ।
यस्तै, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कोभिड–१९ बाहेकमा गम्भीर स्वास्थ्य समस्या भएका र गर्भवती महिला र सुत्केरी महिला पनि रहेका छन् ।
कोरोनाभाइरस संक्रमण फैलिएको सुरुको समयदेखि नै विदेशमा बस्ने नेपालीहरुले ठूलो समस्या झेल्दै आएका छन् । ढिलै भएपनि सरकारले आफ्ना नागरिक ल्याउने सुरुआत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्