Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


उच्चायुक्तको विज्ञप्तिको सरकारद्वारा खन्डन


0
Shares

काठमाडौं, जेठ २२ । कोभिड–१९ का बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानवाधिकारसम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तले बुधबार जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसंग संक्षिप्त उल्लेख गरिएकामा त्यसको सरकारले खन्डन गरेको छ ।

परराष्ट्र मन्त्रालयले उच्चायुक्तको प्रेस विज्ञप्तिप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको बताउँदै नेपालको प्रेस स्वतन्त्रताको सम्बन्धमा प्रेषित सामग्रीले यथार्थ, तथ्य र वास्तविकता प्रतिविम्बित नगरेको जनाएको छ ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको तथा प्रेस स्वतन्त्रता उल्लंघनविरुद्ध प्रभावकारी कानुनी उपचारको व्यवस्था गरिएको स्पस्ट गर्दै मन्त्रालयले संविधानमा निहित मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न  प्रचलित कानुनले निर्देश गरेबमोजिम कार्यसम्पादन गर्दै आएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा त्यस्ता सूचना र जानकारी सार्वजनिक गर्नुपूर्व नेपाल सरकार र जेनेभास्थित नेपालको स्थायी नियोग वास्तविक सूचना र जानकारी उपलब्ध गराउन सधैं तत्पर रहेको प्रस्ट पारिएको छ । रासस