Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


शुक्रबार करिब ३०० नेपालीलाई स्वदेश ल्याइँदै, यी हुन् ‘होल्डिङ सेन्टर’ (भिडियो)


13
Shares

गृष्मा राजभण्डारी, सुन्दर गुरुङ र भरत केसी (इमेज)

काठमाडौं, जेठ २२ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (भोलि)बाट उद्धार सुरु गर्दैछ ।

शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।

यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेशका लागि वसुन्धारामा रहको स्काई जोन पार्टी प्यालेस छानिएको छ ।

यस्तै, भक्तपुरमा रहेको पार्टी प्यालेसमा भने प्रदेश नम्बर–१ र २ का लाई राखिनेछ ।

यता, प्रदेश नम्बर–५ का लागि कुण्डलिनी दरबार ब्यांकेटलाई होल्डिङ एरिया तोकिएको छ ।

प्रदेश नम्बर–६ का लागि ललिपुरको महालक्ष्मीस्थानमा रहेको मण्डला हाउस पार्टी प्यालेसलाई छानिएको छ ।

प्रदेश नम्बर–७ का लागि भने सिद्धार्थ पार्टी प्यालेस तय भएको छ ।

वैकल्पिकस्थलको रुपमा काठमाडौंको मिराकल पार्टी प्यालेस र ललितपुरको डिलाइट पार्टी भेन्यु छानिएको छ ।

काठमाडौं जिल्ला प्रशासन र उच्चस्तरीय समन्वय समिति तथा नेपाली सेनाको रोहबरमा विदेशबाट उद्धार गरिएकाहरुलाई राख्न पार्टी प्यालेसलाई होल्डिङ क्षेत्रका रुपमा प्रयोग गर्ने तय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

सुरुमा पार्टी प्यालेसका सञ्चालकहरुले आनाकानी गरेपनि कोरोना परीक्षणको रिपोर्टसहित नेपालीहरुलाई विदेशबाट ल्याइने र होल्डिङ क्षेत्रका रुपमा मात्रै प्रयोग गरिने हुनाले पार्टी प्यालेस भाडामा दिएको स्काई जोन पार्टी प्यालेसका सञ्चालक विष्णु भण्डारीले बताए ।

सबै होल्डिङ एरियामा नेपाली सेनाको स्वास्थ्य टोली खटिनेछ ।

सरकारले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई चरणबद्धरुपमा उद्धार गर्दैछ । उद्धार गरिएकाहरुले लाग्ने सम्पूर्ण खर्च आफैं व्यहोर्नुपर्नेछ ।

भिडियो हेर्नुहोस्