Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिद्वारा विभिन्न क्षेत्रसँग छलफल


0
Shares

काठमाडौं, जेठ २० । सरकारले ‘लकडाउन’को स्वरुप परिवर्तन गर्ने गृहकार्य थालेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने सन्र्दभमा मंगलबार निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

छलफलका सहभागीहरुले अर्थतन्त्र चलायमान बनाउन तत्काल नसोच्ने हो भने कोरोनाले निम्त्याउने ठूलो भोकमरीको समस्या आउने चेतावनी दिएका थिए ।

लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजार, उत्पादनमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै उनीहरुले क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिएका थिए ।

सो अवसरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ‘रेड’, ‘ग्रीन’ र ‘एल्लो जोन’ गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको बताइन् ।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्यवसायी महासंघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापालगायतले जोखिम मूल्यांकन गरेर सुरक्षित क्षेत्र र समय छुट्याएर लकडाउन खुकुलो बनाउने वातावरण मिलाउन सुझाव दिएका थिए ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उद्योगधन्दा सञ्चालनसँगै सार्वजनिक यातायातका साधन पनि सञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दूरी कायम गरी सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताए ।

नेपाल निर्यात व्यवसायी महासंघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले कोरोको उच्च जोखिममा रहेका मुलुकहरुमा पनि विस्तारै आर्थिक क्रियाकलापहरु हुन थालेको भन्दै निर्यात उद्योग खोल्न वैदेशिक मुद्रा आर्जन गर्ने उद्योग सञ्चालन हुने वातावरण मिलाउन आग्रह गरेको बताए ।

यसअघि, खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्नसक्ने निर्णय सरकारले गरिसकेको थियो ।

तर, संक्रमण झन् तीव्र बन्दै गएपछि आर्थिक गतिविधि चलायमान हुन सकेको छैन ।