काठमाडौं, जेठ १९ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सोमबार संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संघीय संसद विधेयक शाखाले जनाएको छ ।
संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्षमन्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।
यो विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको हो ।
यसअघि, शुक्रबार राजपाले एकलरूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो ।
उक्त विधेयक संसद सचिवालयले अध्ययन गर्ने भनेपछि राजपाले फिर्ता लिएर समाजवादीसँग मिलेर नयाँ विधेयक लिएको थियो ।
राजपाले दर्ता गराउन खोजेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेलगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने थियो ।
त्यस्तै, राष्ट्रियसभामा हरेक प्रदेशबाट तीन/तीनजनाको सिट संरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपालीबाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सिमांकन र संघीयताबारे निर्णय लिनका लागि संवैधानिक संयन्त्र गठन गर्नुपर्ने राजपाको संविधान संशोधन विधेयकमा थियो ।
समाजवादी पार्टी पनि संविधान संशोधन विधेयकमा जोडिएपछि सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने विषय थपिएका छन् ।
त्यस्तै, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्नपर्ने माग पनि थपिएको छ ।
राजपा र समाजवादीको विधेयकमा राजदूतलगायत संवैधानिक नियुक्त समावेशी र समानुपातिक हुनुपर्ने माग पनि थपिएको छ ।
विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्