दीपेन्द्र अधिकारी र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, जेठ १७ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का केही कार्यक्रम आगामी वर्षको बजेटमा समावेश भइसक्दा पनि सम्झौतालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपा अझै स्पस्ट हुन सकेको छैन ।
शनिबार बसेको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म सम्झौताका कामहरु रोक्ने निर्णय गरेको छ । तर, बजेटको अनुसूचीबाट भने तत्काल हटाइने छैन ।
जेठ २ गते संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले प्रवेश पाएपछि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले जेठ ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
जेठ १५ मा संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने भनिएको छ भने सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखिएको छ ।
पार्टीले निर्णय नगर्दै एमसीसीलाई बजेटमा राखेको भन्दै नेताहरुले आपत्ति जनाएपछि नेकपा सचिवालयको अनौपचारिक बैठक बसेको थियो ।
बालुवाटारमा शनिबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र नेकपाले बनाएको एमसीसी कार्यदलका सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई पनि बोलाइएको थियो ।
बैठकले संसदबाट अनुमोदन नहुँदासम्म एमसीसीका कामहरु रोक्ने निर्णय गरेको छ ।
तर, आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको अनुसूचीबाट भने एमसीसी तत्काल नहट्ने भएको छ । एमसीसी संसदबाट अनुमोदन भएको खन्डमा त्यो लागू हुनेछ ।
अनुमोदन भएन भने सरकारले वैकल्पिक व्यवस्था गरी अघि बढ्ने अर्थमन्त्रीले संसदलाई प्रस्ट पार्नेछन् ।
अध्यक्षद्वयले एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन अध्ययन गरेर छिट्टै सचिवालय बैठकमा आवश्यक निष्कर्षमा पुग्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।
सचिवालयको बैठकले अर्को सचिवालय बैठकमा एमसीसीबारे निष्कर्षमा पुग्ने भनिएपनि एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनाल बजेटमा समावेश गरिएपनि एमसीसीकोबारेमा स्थायी कमिटीको निर्णयअनुसार अघि बढ्नुपर्ने बताउँछन् ।
लामो समयदेखि नेकपामा एमसीसीलाई लिएर रस्साकस्सी चलिरहेको छ ।
एमसीसी अध्ययन कार्यदलले पनि यथास्थितिमा सम्झौता कार्यान्वयन गर्न नसकिने बताइसकेको अवस्थामा पार्टीका प्रवक्ताले सचिवालय बैठकले निर्णय गर्ने बताइरहँदा वरिष्ठ नेताले स्थायी कमिटीमा निर्णय हुुनुपर्ने बताइरहेका छन् ।
यसले पनि एमसीसीकोबारेमा नेकपामा देखिएको रस्साकस्सी तत्कालै मत्थर भइनहाल्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्