काठमाडौं, जेठ १६ । सरकारले भारत बाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।
कोराना भाईरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई फर्काउने निर्णय गरेको हो ।
विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गर्दै स्वदेश फर्किन चाहनेहरुको सूचि परराष्ट्र मन्त्रालयले बढीमा १० दिन भित्र तयार पार्ने जनाइएको छ ।
नेपाल वायुसेवा निगम वा निजी विमान कम्पनीका विमान भाडामा लिएर उनीहरुलाई नेपाल ल्याउने र विमानको भाडा सम्बन्धित ब्यक्तिले नै ब्यहोर्नुपर्ने छ ।
नेपाल ल्याईसकेपछि उनीहरुको क्षमता अनुसारको होटलमा राखेर स्वास्थ्य परिक्षण गराएपछि मात्रै सम्बन्धित जिल्लातर्फ पठाउने निर्णय गरिएको छ ।
सम्बन्धित जिल्लामा पठाउन सातै प्रदेशसंग समन्वयन गर्न मन्त्रीहरुलाई फोकल पर्सन तोकिएको छ भने प्रदेश सरकारले जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर स्थानीय तहमा पुर्याउने व्यवस्था मिलाउने भनिएको छ ।
सम्बन्धित स्थानीय तहमा पुगेपछि १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरु घर जान पाउने छन् । परराष्ट्र मन्त्रालयले ६ लाख बढी नागरिकलाई फर्काउनु पर्ने अवस्था रहेको आँकलन गरेको छ ।








प्रतिक्रिया दिनुहोस्