Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


चौरजहारी घटनाः छानबिन समितिले काम थाल्यो


0
Shares

काठमाडौं । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ ।

समितिले आज  पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बँदे ज्ञापनपत्र बुझाएको  अधिकारकर्मी पार्वती विकले बताए ।

उक्त ज्ञापनपत्र बुझदै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेश आधारमा काम हुने बताए ।

उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनेसमेत बताए ।

गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजीकार्य जारी रहेको सन्देश पठाएको समेत संयोजक बस्नेतले जानकारी दिए ।

मृतकको शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उनको भनाइ छ ।

आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाने प्रजिअ पन्तले  जानकारी दिए ।

सो समितिमा गृह मन्त्रालयका सहसचिव  बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी रहेका छन् । 

यही जेठ १० गते चौरजहारी नगरपालिका–८ सोतीमा भएको सो घटनामा  नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजीकार्य जारी छ ।