Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


रुकुम घटनाको विरोधमा नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन


0
Shares

काठमाडौं, जेठ १५ । रुकुम पश्चिममा दलित युवाको हत्या विरोधमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले विहीबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा भेला भएका कांग्रेस तथा विद्यार्थी नेताहरुले घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग राखे ।

रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा भएको हत्याको घट्ना पासविक र निन्धनीय रहेको भएको भन्दै कांग्रेस नेता जीवन परियार र राजिबविक्रम शाहीले तत्काल घटनाको छानविन गर्न माग गरे ।

त्यस्तै नेविसंघ महामन्त्री दिपक भट्टराईले अपराधीलाई राजनीतिक संरक्षण दिने कार्य निन्धनीय रहेको भन्दै उनले हिजो शक्ति र सत्तामा दलित चाहिने अहिले पासविक घटना गराउनेलाई संरक्षण गरिनु कम्युनिष्ट चरित्र रहेको औंल्याए । उनले भने, ‘घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही नगरेसम्म आन्दोलन जारी रहने छ ।’

कार्यक्रममा उपस्थित बक्ताहरुले घट्नाको छानविन गर्न उच्च स्तरीय समिति निर्माण गर्न माग गरे । प्रदर्शनमा नेविसंघ महामन्त्री उर्मिला थपलिया, तरुण दल नेतृ लक्ष्मी खतिवडा लगायतले घट्नाको निष्पक्ष छानविनको माग गरे । 

हस्तलिखित प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले दलित समूदायमा भएको विभेदको चर्को विरोध गरे ।

गणतान्त्रिक मुलुकमा पनि कोही सुरक्षित नहुनु दुर्भाग्यपूर्ण हो भन्दै घटनाको निष्पक्ष छानविन गर्न, घटनालाई राजनीतिकरण नगर्न र अपराधीलाई कारवाही गर्न माग गरे ।

जाजरकोटको भेरी नगरपालिकाका दलित समुदायका युवक नवराज विश्वकर्मासहितलाई रुकुम पश्चिम चौरजहारी घर भएकी कथित माथिल्लो जातकी प्रेमिकासंग विवाह गर्न खोजेको भन्दै जेठ १० गते केटी पक्षकाहरुले नवराजसहित उनीसँगै रहेका युवाहरुलाई बर्बरतापूर्वक हत्या गरी भेरी नदीमा फालेको बताइएको छ ।