
अनुपा श्रेष्ठ
कानूनले जातीय विभेद गरेको छैन । सबै नागरिकलाई समान देख्छ कानून । तर व्यवहारमा न त समान अधिकार छ, न त सहस्तित्व छ । विभेदको अन्त्य गर्न, प्रत्येक मानिस आफै सक्रिय हुनु आवश्यक छ । तर समानताका कुरा गरेर नथाक्ने हामी विभेदलाई अत्न्य गर्नका लागि सधै पछाडि हट्छौँ ।
वर्गसंघर्ष अनि जातीय विभेद लगायतका मुद्दाको अन्त्यको लागि दशकभन्दा लामो समयसम्म माओवादी जनयुद्ध पनि भयो। हजारौंले ज्यानको बलिदान दिए तर विभेद्को खाडल पुरिएन । विभेद झनझन विकराल बन्दै छ । हामी त्यसका रमिते भएका छौं ।
जातिय विभेदका अनेका स्वरुपहरु छन् समाजमा । मैले आफै भोगेको एउटा घटनाका बारेमा यहाँ चर्चा गर्दैछु । २०५६ सालमा मैले पहिलेदेखि चिनेको साथिसँग मेरो विवाह भयो । मेरो हुनेवाला श्रीमानलाई पहिलेदेखि चिनेको भए पनि उहाँको परिवारका बारेमा म बेखबर जस्तै थिए । विवाह नेवारी परम्परा अनुसार काठमाडौंको श्रेष्ठ परिवारमा भएको थियो । ३१ जनाको ठूलो संयुक्त परिवारमा बिवाहको केहि दिनमानै एउटा अनौठो घटना घट्यो । म माटोले लिपेको ठूलो भान्छा कोठामा घरका १० जना केटाकेटीलाई खाना खुवाउने तयारी गर्दै थिए । एउटी ५ बर्षीया छोरी दगुरेर म बसेको चूल्होनिर आईपुगिन । उनलाई लखेट्दै गरेको झण्डै उही उमेरको छोरा टक्क अड्यो । चुल्होलाई अग्लो डिलले बारिएको थियो । छोराले त्यो डिल नाघेन। छोरी चुलोको घेराभित्र बसेर अब तिमीले मलाई छुन सक्दैनौं भन्दै खुसीले उफ्रिन थालिन् ।
यो देखेर म अचम्मित हुदै भन्साको ढिल बाहिर रहेकी अर्की ठूली छोरीलाई सोधेँ भाइ किन भान्छामा नछिरेको ? उनको उतर थियो, मेरो आमाको थर बिहे अगाडि लामा हो नि, विवाह पछाडि मात्रै श्रेष्ठ हुनुभएको । आमा र हामी दिदी भाइहरुलाई भान्छामा छिर्न दिनुहुन्न । अनि हामीले छोएको कसैले खानुहुँदैन । यो घटनाले मैले त छानाबाट खसेको जस्तो अनुभव गरेँ । एउटै छाना मुनि हुर्कदै गरेका बालबालिका बिच कस्तो अन्याय । कति नराम्रो विभेद । घरका अधिकांश सदस्यलाई यो सामान्य लागेको थियो । उहाँहरुले यसलाई आफ्नो परम्परा र संस्कार नै बनाउनु भएको थियो । मलाई भने यो कुरा कुनै पनि हालतमा पाच्य थिएन । तुरुन्तै मैले छोरालाई मेरो छेउमा बोलाए । भने तिमीहरू खाने बेलामा झगडा गर्नुहुन्न तर परिवारको सबैले चुल्होमा आउन मिल्छ । सबैले खाना छुन मिल्छ ।
सबै मानिसहरु बराबर हुन् । मानिस ठूोलो सानो जातले होईन । उसले गर्ने व्यवहारले हो । यस्तै अनेकन कुराहरु भन्दै मैले ससाना बेटाकेटीका दिमागबाट जातीय विभेद हटाउने प्रयास गरेको थिए ।
मेरो हजुरआमा जन्मले क्षेत्री, आमा मानन्धर अनि म श्रेष्ठ, संयुतm परिवारमा आजभन्दा २६ बर्षअघि छुवाछुत र विभेद नभएको भान्छाबाट हुर्के्कि मलाइ यो घटना सुरुवात मात्र हो भन्ने हेक्का पनि थिएन ।
यो घटनाले मलाई घरभित्रै विद्रोह गर्न बाध्य बनायो । मैले घरमा एक किसिमको विद्रोह सुरु गरे । भाउजू अनि उहाँका बच्चाहरुले अरु सदस्य सरहको सम्मान पाउनु पर्छ । उहाँहरुले पकाएको खाना सबैले खानु पर्छ । उहाँहरुलाई चुल्होमा प्रवेश रोक लगाउनु गलत हो । यसले घरमा पछि ठूलो अशान्ति निम्याउँछ भाउजूले सहे पनि बच्चाहरुले बुझन थालेपछि यो व्यवहारको परिणाम राम्रो आउँदैन । यसरी सम्झाउँदै उहाँहरुलाई चूल्हो र पूजाकोठामा प्रवेश गराए । उहाँहरुसंगै बसेर खानाखाने काम गर्न लागे । बच्चाका लागि कुनै गाह्रो थिएन । भाउजूलाई परिवर्तन गर्न गाह्रो थियो ।
मैले त्यो घटनालाई जसरी सहजै व्याख्या गरेको छु । त्यो त्यति सहज थिएन । मैले आफ्नै जेठानी दिदीमाथिको अन्याय चिर्नका लागि गरेको प्रयासबाट म नै विभेदको शिकार बन्न पुगे । तर पनि मेरो यो लडाइँ रोकिएन । एकातिर मेरो घरभित्रको विभेदको संघर्ष जारी थियो । भने अर्को्तिर मेरा विरुद्धमा ठूलो षड्यन्त्र भइसकेको रहेछ ।
श्रेष्ठ परिवारको दाजुभाइ खलकको सामूहिक कूलपूजा हुनेरहेछ । उक्त पूजामा नयाँ बुहारीको रूपमा भित्र्याउने चलन रहेछ । तर मलाई नभित्र्याइकन पूजा सम्पन्न भयो । यसको कारण शुरुमा मैले लामा थरकी मेरी जेठानी दिदीलाई र उनका बच्चालाई छुवाछुत गर्नु हुन्न भन्ने ठान्नेकी थिए ।
पूजाबाट बहिष्कार गरिनुको कारण यत्तिमात्रै नहुन सक्छ भन्ने लागेर म र मेरो श्रीमान् अन्य कारण खोज्न तर्फ लाग्यौँ । दाजुभाइ खलकले मेरो वंश उतारेर बस्नु भएकोरहेछ । मानन्धर थरकी आमाको कोखबाट जन्मिएको कारण म पनि त्यस श्रेष्ठ खलकमा दोस्रो दर्जाको सदस्यका रुपमा गणना भइसकेको रहेछु ।
केटापक्षका तर्फबाट घरका मुलिहरुले मलाई माग्न आएर, विधिवत रुपमा धुम्धामसँग मेरो विवाह भएको थियो । मेरा आमाबाका बारेमा सम्पूर्ण कुरा सोधखोज गरेर मलाई बुहारी बनाएर भित्र्याएपछि ममाथि यस्तो व्यवहार अस्वीकार्य थियो । घटनाको चुरो थाहा पाएपछि श्रीमान र म स्तब्ध हुने बाहेक हामीसँग अर्को विकल्प रहेन । यो पूजामा बर्षौदेखि नभित्र्याइएका खलकमा अरु बुहारीहरु अनि उनीहरुबाट जन्मिएका सन्तानहरु श्रेष्ठ परिवारमा धेरै रैछ । उनीहरु दोस्रो दर्जाका सदस्य हुने रहेछन् । यो कुरा सुने पछि मेरो मन र मस्तिष्कले कामै गर्न छोड्यो । बुबा वीरेन्द्रभक्त श्रेष्ठलाई सम्झिए । उहाँ नेपाली कांग्रेसको राजनीति गर्ने मान्छे । उहाँ सधै जातीय, लिंगीय, अनि सामाजिक विभेद हुन हुन्न भन्ने ब्यक्तित्व । मेरा बुबाको घरमा मान्छे भन्ने एउटै जातमात्रै थियो । यस्तो स्वतन्त्र परिवारमा हुर्किएकी मैले यो घटनालाई स्वीकार्न सक्ने अवस्था थिएन । जीवनमा भुकम्पनै आएको जस्तो लाग्यो ।
मैले यसका बारेमा प्रतिवाद गर्नु पर्छ भन्ने लाग्यो । अनि श्रीमान र ससुरालाई किन मेरो घरमा माग्न आउनु भयो ? र आज मेरो जननीको अपमान गर्नु भयो ? विवाहको कुरा छिन्नुअघि मेरा बारेमा सबै कुरा बुझ्नु भएको थियो, थिएन ? मेरो बुवा श्रेष्ठ, आमा मानन्धर, हजुरआमा खड्का अनि त्योभन्दा धेरै माथिको पुर्खा बाँदर हो । तपाईंको घर र समाजमा यो विभेद हुने जानकारी भएको भए म यो परिवारसँग सम्बन्ध गाँस्ने थिइन ।
मलाई उतर र न्याय दिनुस् भन्ने माग राखें । उहाँहरु नाजवाफ बन्नुभयो । तर म सहेर बस्ने पक्षमा बिल्कुल थिइन । मलाई जातीय भेदभाव राख्ने परिवारसँग सम्बन्ध कायम राख्नु थिएन । त्यसैले श्रीमानसँग पारपाचुकेको प्रस्ताव राखे । मेरो प्रस्तावको उहाँले सिधै अस्वीकार गर्दै भन्नु भो, गल्ती अरुले गर्ने अनि सजायँ तिमीले मलाई दिने, मैले नि जातीय विभेद र विविध कुरीतिको बिरोध गर्दै आएको हुँ । श्रीमानको कुरा सही थियो । यस घटनामा उहाँ निर्दोष हुनुहुन्थ्यो । दोष श्रेष्ठ परिवारको सदस्य हुनु मात्र थियो । उहाँको पूर्णसाथ मलाई थियो । हामीले जातीय भेदभावको विषयलाई आधार बनाएर मुद्दा हाल्ने निधो र्गयौं । मुद्दाको काम अघि बढ्यो म वादी भए र दाजुभाइको गूठीका मुलि र सह मुलिलाई प्रतिवादी बनाए । लगतै मुद्दाको फिर्ता लिनको लागि ससुरा बुवा मार्फत ठूलो दवाव आयो ।
मन्दिरमा छिरेर, पूजामा बसेर ठुलो मान्छे हुने, मन्दिर नछिरे सानो मान्छे हुने होईन । कानुनले कुनै जातलाई ठूलो सानो भनेको छैन । आफ्नो जीवनभर श्रेष्ठ खलकको बुहारी भै अन्यायमा परेका सबै बुहारी र केटाकेटीको प्रतिनिधि पात्रको रूपमा यो भेदभावको अन्त्यका लागि मुद्दा हालेकी हुँ । यस्तो असमानता र अन्यायबाट कति सदस्यले पीडा भोग्नु परेको छ । कसले के भन्छ भनेर म सहेर बस्दिन मैले ससुराबुवालाई यस्तो जवाफ फर्काको थिए । मुद्दा चल्दै थियो, म आफ्नो टेलिभिजनको कार्यक्रम बनाउने काममा व्यस्त थिए । साथै आफ्नो घरमा भएको विभेदलाई हटाउने मेरो प्रयास निरन्तर थियो । आमा, बुबालाई पटक पटक जातीय विभेद एक मानवले अर्को मानवलाई गर्ने अपराध हो, गर्नुहुन्न भन्दै विभिन्न उदाहरण दिएर सम्झाउने निरन्तर प्रयास गरिरहे । मेरो मुद्दाको पेशीमा अदालत जान्थे । वकीलहरुले वहस गर्ने काम चलिरहेको थियो । विना कुनै वहस जित्नु पर्ने मुद्दा मैले हारे । कानुनले नै जातीय विभेद गरेको रहेछ, भन्ने लाग्यो । म पुनरावेदनमा गईन । मुद्दा लडेर कसैलाई जेल पठाउनु वा दुःख दिनु मेरो उद्देदेश्य थिएन । म त केवल राजधानी काठमाडौंमा बस्ने शिक्षित मानिसहरुले जातीय विभेद गर्छन भने अन्यत्रको अवस्था के हुन्छ ? यो अपराधलाई बुझेकाहरुले पालेका अवस्थामा समाज के हुन्छ ? यो सरासर सामाजिक अपराध हो । सभ्य समाजका लागि यो व्यवहार सुहाउँदैन भनेर यत्रो हिम्मत गरेको थिए । अब मलाई पुनरावेदन जानु विलकुल मन लागेन । गईन । मुलुकको कानूनले अथवा न्यायालयले यस्ता खालका विभेदलाई स्वीकार गरे पनि मेरो मनले स्वीकार गर्न तयार थिएन । मुद्दा अदालतमा न हारेको थिए । मनबाट हारेको थिईन । घरमा यसको लडाइँ जारी थियो । पटक पटक सम्झाउने बुझाउने कोशिश गर्दागर्दै बर्षौं बित्यो। कति श्रेष्ठ खलकका पाका सदस्यहरु यो सन्सार छोडेर गए तर विभेद हेटेन ।
निरन्तरको प्रयासले यता हाम्रो घरमा भने विस्तारै परिवर्तन आउन थाल्यो । भाउजूले खाना पकाउन थाल्नु भयो, मेरो सासू आमा त यति परिवर्तन हुनुभयो कि रजस्वला हुन्दा भन्छामा छिर्न नहुने अवस्थाबाट रजस्वला भएको अवस्थामा मैले पकाएको खाने हुनुभयो । मेरो कुरा ससुरा बुवाले पनि भुझ्नु भयो । तर दाजुभाइ खलकलाई विभेद अन्त गर्न बुझाउन सकिएन । विभेदको भारी बोकेर उहाँ पनि बित्नुभो । तर धेरैलाई अझै होश आएन । मैले कानुनी चपेटा फेरि घिसार्दै लैजान्छ भन्ने डरले बरु १९ बर्षदेखि सामुहिक पूजा र देवाली गरेनन् तर आफ्नो श्रीमती र छोराछोरीलाइ अन्याय गर्नु हुन्न भन्ने चेतना आएन । मैले नयाँ पुस्ताकाहरुसँग पनि कुरा नगरेको होइन तर उनीहरु भन्छन् अब बाँकी रहेका २, ३ जना बुढाहरु मरेपछि मात्र हुन्छ, हामी आफ्नो बुबा काकाहरुलाई सम्झाउन सक्दैनौं । युवा जमातको साथले परिवर्तन गर्न, सकिन । तर हार मानेको छैन । एक बर्षअघि घरको मूली ठूलो दाजुसँग राम्रो वातावरणमा कुरा गर्दै आफूले लिन लागेको निर्णय सुनाए । परिवारमै रहेको छुवाछुतका विरुद्धमा आफुले लिने कदमका बारेमा जानकारी गराउँदै भने ‘दाई मैले प्रयत्न गरें । तर यहाँका मान्छेको लवाइ खवाइमा परिवर्तन भयो । सोच परिवर्तन भएन । त्यसैले तपाईंको घरको बुहारीको रूपमा म जातीय विभेद गर्ने सबै दाजुभाइ खलकलाई वहिष्कार गर्छु । मलाई तपाईको कुलले स्वीकार्नु पर्दैन । अब उप्रान्त कुनै पनि परिवारको पूजाआजा र भोज भतेरमा सामेल हुन्न । तपाईंले सक्नु हुन्छ भने बोल्न नसक्नेहरुको लागि न्याय दिनुहोस् । बिगत एक बर्षदेखि आफ्नै घरको आँगनमा भएको भोजमा समेत सामेल भएको छैन । कसैले मेरो अनुपस्थितको विषयमा सोधे, मैले जातीय विभेद गर्ने मान्छे र समाजलाई वहिष्कार गरेको छु भनिदिनुहोस् भनेको छु । यो निर्णय मैले गरिरहँदा कसैलाई अपशब्द बोल्नु, गाली गर्नु जरुरी छैन । मैले त्यसो पनि गरेको छैन ।’ चेतनाको कुरा हो । परिवर्तन गर्न कसैले न कसैले केही न केही गर्नै पर्छ । मैले उहाँहरु सबैलाई छिमेकी, मनुष्यलाई गर्ने व्यवहार गरेको छु । श्रीमानलाई मेरो यो निर्णयले घर व्यवहार चलाउन गाह्रो भएको हुनुपर्छ । श्रीमानजीले समाज परिवर्तनको मेरो चाहनलाई राम्रोसँग बुझ्नु भएको छ । सामान्य परिवारका कुरा छोडौँ । शिक्षित र राजनीतिक नेताहरुका घरघरमा यस्ता विभेद छन् । सञ्चारका क्षेत्रमा काम गर्नेहरु समेत कति जना यो विभेद सहेर बसेका छन् । महत्त्वपूर्ण कार्यकारी पदमा बसेकाहरु कतिले यस किसिमको विभेदलाई नजरअन्दाज गरेका छन् । त्यसैले जातीय विभेद कानूनका किताबमा मात्र अन्त्य छ हाम्रो जीवनमा छैन ।
यो विभेद अन्त गर्न मलाई पारपाचुके दिनुस् र साथ दिनुस्, जातीय विभेदबाट डराइ भागेर विदेश जाने, परिवारबाट छुट्टै गएर बस्ने भन्दा उत्तम उपाय सम्बन्ध बिच्छेद हो । उहाँको यस पटक पनि पहिलेको झै उतर थियो, तिमी झैं म पनि जातीय बिभेदको युद्धमा तिमीसँगै लडेको हुँ, अझै पनि तिम्रो साथै नै छु तर कानुनी रुपमा सम्बन्ध विच्छेद गरेर होइन । मेरो मित्र, मेरो श्रीमानलाई बिना कसूर दुःख दिन सक्दिन थिए तर विभेद सहने कुरा पनि भएन । विवाह भनेको दुई ब्यक्ति बिचको मात्र सम्बन्ध होइन, यो दुई परिवारको मेल हो । मेरो लागि विवाहमा परिवारका सदस्यबीच सम्मानजनक सम्बन्ध हुन्छ, नातागोताको सुख दुःखमा साथ रहिन्छ । दुई जना जोडी मात्र परिवारका सदस्यको वास्ता नगरी बस्नु लिभइन टुगेदर हो, त्यसलाई विवाह भनिदैन । जाति विभेदमा अझै पनि लिप्त भएकालाई विरोध गर्दै विविध सामाजिक अफ्ट्याराहरु सामना गर्दै विवाहको १९ बर्षपछी म अहिले लिभइन रिलेसनमा मात्र छु ।
प्रतिक्रिया दिनुहोस्