
सरोज अधिकारी र लक्ष्मण डंगोल(ईमेज):
काठमाडौं, असार ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि हेटौंडामा सुरु हुँदै छ । तीन दिने भेला पार्टी गुटगत राजनीतिबाट प्रभावित हुने भएको छ ।
पार्टीको भावी रणनीति र विधान संशोधनका विषयमा केन्द्रीत हुने बताइएको भेला सभापतिहरुको तयारी हेर्दा आरोप प्रत्यारोप मै केन्द्रीत हुने देखिएको हो ।
आम निर्वाचनपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टीभित्रको गुटगत राजनीतिको राम्रो प्रभाव देखिने संकेत छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सभापति शेरबहादुर देउवाको अलोकप्रियताको कारण निर्वाचनमा हार बेहोर्नु परेको तर्क गरिरहेको छ ।
त्यही विषयलाई अहिले सभापति भेलामा पनि उठाउने तयारी पौडेल पक्षीय नेताहरुको छ । तर सभापति देउवा पक्ष भने त्यसको प्रतिरोधको तयारीमा छ ।
पौडेल समूह भेलामा सभापति नै फेर्नुपर्ने माग राख्ने तयारीमा जुटेको छ । पार्टी विधान संशोधन गरेर पदाधिकारी थप्ने संस्थापनको तयारीलाई समेत पौडेल पक्ष रोक्ने गरी जुटीरहेको छ ।
पौडेल पक्षीय नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी पार्टी सभापतिको अलोकप्रियताका कारण निर्वाचनमा पार्टीले नमीठो हार बेहोरेको भन्दै अब नेतृत्व विस्थापित गरेर पार्टीलाई पुर्नताजगि बनाउनुपर्ने आवाज उठाइने बताउँछन् ।
कतिपय जिल्ला सभापतिहरुले भेलामा जाने तयारीसहित स्थानीय तहका आफ्ना कार्यकर्तासँग समेत छलफल गरिरहेका छन् ।
पार्टी सुधारका लागि सबै तर्फबाट दबाब पनि छ । सभापति देउवा पक्षीय दोलखाका सभापति रुद्रबहादुर खड्का नेतृत्व परिवर्तनबाट मात्र पार्टीले गति नपाउने भन्दै बरु पार्टीभित्र अनुशासन कायम गराउनुपर्ने बताउँछन् ।
विगतको समीक्षा गर्दै नयाँ बाटो तय गर्नुपर्ने सभापति भेलामा जाने सभापतिहरु पार्टी बलियो भए मात्र आफूहरुको अस्थीत्व रहने कुरामा भने सहमत छन् ।
पार्टी विधानलाई समय सापेक्ष सुधार गर्दै संघीय संरचनाअनुरुप तल्ला तहलाई बलियो बनाएर उत्तरदायी नेतृत्व प्रणालीको विकास गर्नुपर्नेमा दुवै पक्ष सहमत छन् ।
कम्युनिष्ट पार्टीहरु एक भइरहेको अवस्थामा पार्टी प्रसित आकर्षण बढाउन आरक्षण, प्रभावकारी योजनाहरु ल्याउनुपर्ने धारणा छ उनीहरुको ।
निर्वाचनको समीक्षालगायत नयाँ रणनीति तय गर्न बोलाइएको कांग्रेस जिल्ला सभापतिहरुको भेला गुटगत स्वार्थ र नेतृत्व परिवर्तनको विषयमा मात्रै केन्द्रित भएमा कांग्रेसका लागि भावी दिन थप चुनौतीपूर्ण देखिन सक्छ ।
प्रतिक्रिया दिनुहोस्