Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


गोताखोर टोलीद्वारा भेरी नदीमा बेपत्ता एकजनाको शव फेला


0
Shares

रुकुम, जेठ १४ । रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएका एकजनाको शव फेलापरेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार दिउँसो एकजनाको शव फेलापारेको हो । अरु दुईजनाको खोजी भइरहेको छ ।

जाजरकोटको भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव नदीमा तैरिएको अवस्थामा फेलापरेको जनाइएको छ ।

गाउँलेको आक्रमणबाट ज्यान जोगाउन नदीमा हामफालेकाहरु बेपत्ता भएपछि खोजी गर्न सशस्त्रको गोताखोर टोलीलाई परिचालन गरिएको थियो ।

जाजरकोटस्थित सशस्त्र प्रहरीको आश्रित गुल्मबाट डीएसपीको कमान्डमा चारजना गोताखोरसहित ११ जना र पश्चिम रुकुमस्थित सशस्त्र प्रहरी बलको ४७ नम्बर गुल्मबाट प्रहरी नायब निरीक्षकको कमान्डमा चारजना विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी गरी १८ जनाको टोली परिचालन गरिएको छ ।

जाजरकोटका नवराज विक प्रेमिका लिन भन्दै १९ जनाको हुल बाँधेर रुकुमको चौरजहारी पुगेकोमा केटीपक्षले आक्रमण गरेका थिए ।

केटीपक्षको आक्रमणबाट तीनजनाको मृत्यु भएको थियो । ज्यान जोगाउन भेरी नदीमा हामफालेकामध्ये तीनजना बेपत्ता भएका थिए ।