Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘लकडाउन’मा पुनर्विचारदेखि संसदीय समितिबाट रुकुम घटनाको छानबिन गर्न माग


0
Shares

काठमाडौं, जेठ १४ । संसदमा कोरोना संक्रमण रोकथामका लागि जारी ‘लकडाउन’मा पुनर्विचार गर्न आवाज उठेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले लकडाउनका कारण सामाजिक र आर्थिक अवस्था अस्तव्यस्त भएको भन्दै जारी लकडाउनमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।

बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसी समुदायमाथि आघात पार्ने अभिव्यक्ति दिएको भन्दै छानबिन गरी कारबाही गर्न माग गरे ।

यस्तै, कांग्रेस सांसद राजेन्द्रकुमार केसीले कोरोना परीक्षणमा ‘आरडीटी’ प्रविधि गलत भएकाले तत्का रोक्न माग गरे ।

सांसद भैरवबहादुर सिंहले विश्व स्वास्थ्य संगठनको मूल्य–मान्यताविपरीत भारतले कोरोना संक्रमण महामारीकाबीच नेपालीहरुलाई सीमातिर लखेटिरहेको भन्दै सीमाबाट भित्रिने नेपालीको कोरोना परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा भाग लिएका अधिकांश सांसदहरुले भारतबाट दैनिक हजारौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिएपनि आवश्यकरुपमा कोरोना परीक्षण हुन नसकेको भन्दै प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराएर परीक्षण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै, सांसदहरुले कोरोना संक्रमितको व्यवस्थापनको लागि स्थानीय तहसँग बजेट अभाव रहेको भन्दै तत्काल आवश्यक रकम उपलब्ध गराउन र आवश्यक परे सांसद विकास कोषसँग सम्बन्धित बजेट प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

सांसदहरुले रुकुम पश्चिममा घटेको घटना छानबिनको लागि संसदीय छानबिन समिति बनाउन र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

यस्तै, बैठकमा शिक्षा तथा स्वास्थ्य समिति र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापतिले समितिको प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा, विधेयक २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका छन् ।