Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


संविधान संशोधन विधेयक आजको संसद बैठकमा पेस नहुने, कार्यसूचीबाटै हटाइयो


0
Shares

काठमाडौं, जेठ १४ । संविधान संशोधन विधेयक बुधबार (आज)को प्रतिनिधिसभाको बैठकमा पेस नहुने भएको छ ।

संसद सचिवालयले मंगलबार प्रकाशित गरेको आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७’ पेस गर्ने कार्यसूची थियो ।

तर, आज बस्ने बैठकको कार्यसूचीबाट संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।

कार्यसूचीबाट संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

कार्यसूची तय गर्ने कार्यक्षेत्र सभामुखमा हुन्छ । तर, के–कति कारणले संविधान संशोधन विधेयक कार्यसूचीबाट हट्यो भन्ने विषयमा सभामुखको सचिवालयले कुनै जानकारी दिएको छैन ।

संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि सर्वसम्मतिले पारित गराउने सरकारले पहल थालेको छ ।

सर्वसम्मत् पारित गराउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बोलाएका थिए ।

तर, बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो पार्टीको केन्द्रीय समितिबाट संविधान संशोधनका विषयमा निर्णय गर्न समय मागेको र मधेसवादी दलले प्याकेजमै संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए ।

प्रतिपक्ष दलले समय मागेको र मधेसकेन्द्रित दलको अडानका कारण सरकार आजको बैठकमा विधेयक पेस नगर्ने निर्णयमा पुगेको जनाइएको छ ।

सरकारले अद्यावधिक गरेको नेपालको नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।

संविधान संशोधनको लागि संसदमा हाल कायम रहेको सांसद संख्याको दुईतिहाइ मत आवश्यक पर्छ ।