१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


‘अग्निपरीक्षा’मा इमरान


0
Shares

किशोरजंग थापा (इमेज)

काठमाडौं, भदौ २ । पाकिस्तानका सफल क्रिक्रेटर इमरान खान सन् १९९६ मा ४३ वर्षको उमेरमा राजनीतिमा होमिँदै गर्दा उनी राजनीतिको सर्वोच्च स्थानमा पुग्लान् भनेर कमैले विश्वास गरेका थिए ।

फरक पृष्ठभूमिका कारण पनि उनको राजनीतिक यात्रा कठिन हुने विश्लेषण गरिएको थियो ।

तर, त्यही यात्राले दुई दशकपछि उनलाई सफलताको शिखरमा पुर्‍यायो, पाकिस्तानको २२औं प्रधानमन्त्रीकारुपमा ।

गत जुलाईमा सम्पन्न चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्सानले ११४ सिट जितेको थियो ।

साना दलको समर्थनसँगै १७६ सिट पुर्‍याएर बहुमत जुटाएका इमरान देशको प्रमुख कार्यकारी पदमा पुग्न सफल भएका छन् ।

उनको सफलतालाई दशकौंदेखि दुई प्रमुख दलहरु र शक्तिशाली सेनाको दबदबा रहेको पाकिस्तानको राजनीतिमा नयाँ अध्यायको सुरुआतकारुपमा हेरिएको छ ।

तर, राजनीतिमा स्थापित हुन भने इमरानले धेरै संघर्ष गर्नुपर्‍यो । ‘सेलेब्रिटी प्लेब्वाइ’को छविबाट उनले आफूलाई अहिले धार्मिक, जनप्रिय र विपन्नताविरोधी सुधारककारूपमा चिनाउने प्रयासमा छन् ।

यो चिनारी मुलुकको नेतृत्वकर्ताकारुपमा पनि प्रतिविम्बित हुनु आवश्यक बनिसकेको छ, प्रधानमन्त्रीको शपथसँगै ।

६५ वर्षीय इमरानसामु मुलुकको चुलिँदो आर्थिक संकट पहाड बनेर उभिएको छ । भ्रष्टाचारविरुद्ध ‘जेहाद’ नै छेड्नुपर्ने अवस्था विद्यमान छ ।

सेनासँगको सम्बन्ध सन्तुलित बनाइराख्नु पनि उनका लागि चुनौतीपूर्ण नै छ । यद्यपि, चुनावमा उनलाई सेनाले समर्थन गरेको विपक्षीको आरोप थियो ।

तालिबानको बढ्दो हिंसात्मक प्रभाव निस्तेज पार्नु ‘फलामको चिउरा’ चपाउनुसरह त छँदैछ, छिमेकी भारतसँगको शत्रुतापूर्ण सम्बन्धमा सुधार ल्याउनु पनि कम चुनौती देखिँदैन । क्षेत्रीय स्थिरताको दृष्टिकोणबाट यो महत्पूर्ण पक्ष हुनेछ, उनको कार्यकालमा ।

विगतमा पाकिस्तानको बलियो सहयोगी रहेको अमेरिकासँग चिसिएको सम्बन्धलाई न्यानो पार्नसके भने अन्तर्राष्ट्रिय कूटनीतिमा इमरानको ठूलो सफलता हुनेछ ।

अफगानिस्तानमा सक्रिय आतंकवादीहरूका लागि पाकिस्तान सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग रोकेपछि पाकिस्तान अप्ठ्यारो अवस्थाबाट गुज्रँदैछ ।

इमरानले प्रधानमन्त्रीको भव्य निवासमा नबस्ने घोषणा गरिसकेका छन् । भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्नेदेखि विद्यमान राजनीतिक वंशहरुलाई तह लगाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

सन् १९९२ को विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व गर्दै इंग्ल्यान्डलाई हराएर विश्वकप दिलाएका इमरानको काँधमा अहिले मुलुक हाँक्ने जिम्मेवारी आएको छ ।

पूर्वस्टार क्रिक्रेटर तीव्रगतिका बलर इमरानले के नयाँ पाकिस्तान निर्माण गर्न सक्लान् ? त्यो भने भविष्यले नै बताउनेछ । –एजेन्सीको सहयोगमा