Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


स्वदेश फर्किएका युवा भन्छन्: अब कहिल्यै विदेश फर्कनु नपरोस, नेपालमै गरिखान पाइयोस(भिडियो)


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कन्चनपुर । भारतबाट नेपाल फर्कनेहरुको अहिले सीमा नाकाहरुमा भीड लागेको छ ।

कोरोना त्रासका बीच लामो यात्रा पार गर्दै बल्ल बल्ल स्वदेश फर्कन पाएका उनीहरुमा खुशीको संचार भएको देखिन्छ ।

यसरी फर्किने अधिकांशले कामको खोजीमा फेरि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने वातावरण बनोस् भने चाहेका छन् ।

परिवार पाल्नकै लागि कामको खोजीमा भारत गएका नेपालीहरुलाई अहिले निकै समस्यामा परेका छ ।

लकडाउनका कारण काम गर्न नपाएका उनीहरुलाई कमाएको पैसाले बसेर खान समेत हम्मे हम्मे परेको छ ।

जसले गर्दा परिवार पाल्न मुग्लान गएका उनीहरु उल्टै ऋणको भारी बोकेर घर फर्किन बाध्य छन् ।

झण्डै ४५ वर्ष भारतमा मजदूर गरेर जीविकोपार्जन गरेका कालीकोटका कालीबहादुर विष्टलाई अब कहिल्यै फर्किएर भारत जान मन छैन ।

कोरोनाका कारण भएको लकडाउनले अर्काको देशमा भोकै बस्न परेपछि उन्लाई बरु आफ्नै देशमा दुःख गर्ने जोश आएको छ ।

उनी मात्रै होइन अहिले सुख दुःखमा आफ्नै परिवार र देश काम लाग्ने भन्दै विदेशीयका अधिकांश नेपालीहरु स्वदेशमै अवसरको खोजीमा फर्किदैछन् ।

उसो त, विश्वभर माहामारीका रुपमा कोभिड १९ को संक्रमण फैलिन थालेपछि धेरै नेपालीहरु यसअघि नै स्वदेश फर्किसकेका छन् ।

कतिपय खानबस्न समस्या भएर अनेक दुःख कष्ट खेप्दै पैदल हिडेर सीमा क्षेत्रसम्म पुगेका छन् भने कतिपय नेपालीहरु अहिले पनि भारतका विभिन्न शहरहरुमा अलपत्र अवस्थामा छन् ।

त्यस्तै कतिपय दुई हप्तादेखि डेढ महिना क्वारेन्टाईन अवधी पुरा गरि नेपाल भित्रिएका छन् ।

नाका खुल्ने आशमा भारतको अल्मोडाबाट पैदल हिडेर सीमाक्षेत्रमा पुगेका तेजा परियार अनेक दुखकष्ट सहदै अन्ततः स्वदेशमा आउन पाएकोमा खुशी व्यक्त गर्छन् ।

यता, लकडाउनको अवधी लम्बिदै गएपछि कञ्चनपुरसँगै देशैभरका सीमानाकामा यतिबेला स्वदेश फर्किने नेपालीहरुको भीड बढ्दै गइरहेको छ ।

खुला सीमानाका कारण पछिल्लो समय दोधारा चाँदनी क्षेत्रबाट अवैध रुपमा हजारौको संख्यामा नेपालीहरु भित्रिन थालेपछि त्यसले कञ्चनपुरमा कोरोनाको थप जोखिम निम्त्याएको छ ।

जसले गर्दा स्थानीय प्रशासनले दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई गड्डाचौकी नाका हुदै व्यवस्थित रुपमा नेपाल प्रवेश गराउने काम समेत सुरु गरेको छ ।

नाकाबाट अवैध रुपमा भित्रिनेहरुबाट थप जोखिम हुन सक्ने भन्दै उनीहरुलाई गड्डाचौकी नाकाबाट व्यवस्थित रुपमा नेपाल प्रवेश गराई स्वास्थ्य परिक्षण पछि सम्बन्धीत ठाउँमा पठाउने काम भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको भनाई छ ।

कञ्चनपुरमा एकसाता यता भारतबाट झण्डै ६ हजार बढी नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई स्थानीय प्रशासनले नाकाबाटै सम्बन्धीत जिल्लामा पठाउने काम गरिरहेको छ ।