काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटमा उनले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा राष्ट्रपतिलाई नै विवादमा तान्नेगरी विधेयक पास गराएको भन्दै आपत्ति जनाए । ‘राष्ट्रपति कोही पार्टी वा व्यक्ति विशेषको हुन्न । हिजो पनि हामीले राष्ट्रपतिको मानसम्मान गरेका थियौं तर आज बहुमतका आधारमा जे गरिँदैछ, त्यो बेठिक छ । त्यसलाई सच्याउनु आवश्यक छ,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाले मंगलबार साँझ ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि बुधबार भेटघाट गर्ने वातावरण मिलेको थियो । देउवाले नै भेटघाटका लागि आग्रह गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली दुई उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
भेटघाटका क्रममा ओलीले देउवासँग राष्ट्रपतिद्वारा विधेयक फिर्ता गरिएपछि कम्तीमा राष्ट्रिय सहमति खोज्ने पहल नगरेको भन्दै सरकारप्रति गुनासो गरेका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्