Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मन्त्रीको प्रभावले विकासको दुर्दशा

भिर र धानखेतका बीचमा पक्की पुल

247
Shares

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका–९ धर्मोदय माविका विद्यार्थी खारखोलामा पुल नहुँदा एक महिना हेलिँदै विद्यालय आउजाउ गर्न बाध्य भए। वर्षौंदेखि बर्खायामको यो समस्या देखे पनि पक्की पुल निर्माणमा सरोकारवाला कसैले चासो दिएका छैनन्। नगरपालिकाको पहलमा अहिले पाइप राखेर विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अस्थायी बाटो बनाइएको छ। ठुलो पानी परेर खोला उर्लियो भने त्यो पनि बगाउने खतरा छ।

पक्की पुल नहुँदाको सास्ती एकातिर छ भने गोरखाकै दरौंदी नदीमाथि सडक नै नभएका ठाउँमा दुईवटा पक्की पुल बनेका छन्। गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–५ जोड्नेगरी बनाइएको एउटा पक्की पुलको गोरखातर्फ भिर छ भने सिरानचोकतर्फ धानखेत छ। यस्तै गोरखा–१२ र पालुङटार–९ जोड्ने गरी बनाइएको अर्को पक्की पुलसँग पनि सडक जोडिएको छैन। पालुङटारतर्फ ६ सय मिटर सडक खोल्न बाँकी छ। त्यतातिर खेतमा धान हरियो भइसकेको छ।

गोरखा–३ र सिरानचोक–५ जोड्नेगरी सडक नै नभएको ठाउँमा पुल निर्माण भएको भन्दै स्थानीय आश्चर्यमा परेका छन्। पुल निर्माणका क्रममा दरौंदी नदीको तिरैतिर निर्माण सामग्री ढुवानी गरिएको थियो। खारखोलाका विद्यार्थी पुल नहुँदा दैनिक हेलिएर स्कुल जानुपर्ने र सडक नै नभएको ठाउँमा पुल निर्माण भएको विषयले अहिले सामाजिक सञ्जालसमेत तातेको छ। ५ करोड ३९ लाख ८० हजारको लागतमा तत्कालीन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको पहलमा उक्त पुल निर्माण सुरु भएको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।