काठमाडौं । राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टी ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर प्रदीप दाइमा मैले सत्ताको लोभ देखिनँ। सत्ताबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्थ्यो।’ पत्रकार किशोर नेपालले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिका बारेमा गरेको टिप्पणी हो यो।
राजनीतिलाई पद, पैसा, शक्ति र सत्ताका लागि प्रयोग गर्दा आम जनतामा यसप्रति वितृष्णा पैदा भइरहेका बेला नेता गिरि अपवाद पात्र थिए। मन्त्री र प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गर्ने गिरि समकालीन राजनीतिका दुर्लभ पात्र हुन्। नेपाली राजनीतिमा निष्ठाको खडेरी लागेका बेला निष्ठा र विचारका धरोहर नेता गिरिको भौतिक शरीर सधैंका लागि लिन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ बजे भौतिक शरीर त्यागेका गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ। गिरिको पार्थिव शरीरमा छोरा सन्तोषले दागबत्ती दिएका थिए।
सिरहाको बस्तीपुरमा जन्मेका गिरि २०१७ सालपछि भएका सबैजसो राजनीतिक परिवर्तनका आन्दोलनमा सहभागी भए। अध्ययन, अनुसन्धान र लेखनमै बढी रुचि राख्ने उनको घाँटीमा केही समयअघि क्यान्सर देखिएको थियो। उनी केही समय भारतमा उपचार गराएर साउन पहिलो साता काठमाडौं फर्केका थिए। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गिरिले सधैं समाजवादी चिन्तन र व्यवहार गर्थे। माक्र्सवादका ज्ञाता गिरिले नेपालका थुप्रै माक्र्सवादीलाई माक्र्सवाद पढाए। के कांग्रेस, के कम्युनिस्ट सबै विचार, सिद्धान्त, भूगोल र समुदायको विश्वविद्यालयका रूपमा परिचित गिरिका लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्