
काठमाडौं । एकातिर सामाजिक सञ्जालको लतले पुस्तक पढ्ने पाठकहरुको रुचिमा ओरालो लाग्यो भन्ने सन्देश प्रवाहित भइरहँदा भृकुटीमण्डपभित्र सञ्चालनमा रहेको सार्वजनिक पुस्तकालयले त्यो प्रक्षेपणलाई मिथ्या सावित गरिदिएको छ । बालबालिका, किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्म यहाँका उपभोक्ता बनेका छन् । स्थापनाको दुई दशकमा आफूहरुले यथेष्ठ पाठक कमाएको पुस्तकालय व्यवस्थापनको दावी छ ।
दुई दशकअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काको सक्रियतामा खुलेको यस पुस्तकालयमा १ लाख बढी पुस्तक राखिएको छ । अधिकांश पुस्तक बृटिस लाइबेरीले दिएको हो । पाठकले पनि थुप्रै पुस्तक सहयोग गरेका छन् । केही पुस्तक पुस्तकालय व्यवस्थापन आफैंले जोहो गरेको छ । पुस्तकालयमा धेरै प्रकारका पुस्तक राखिएको छ यद्यपि अहिलेको सेवामा पाठक र व्यवस्थापन दुवै पक्ष सन्तुष्ट नभएको वरिष्ठ पुस्तकालय सहायक रितेश नेवा बताउनुहुन्छ ।
सोमबारदेखि शनिबारसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म दिनहुँ २ सय पाठक आउने गरेका छन्, पुस्तकालयले पाठकको चाप धान्न नसकेकै कारण अहिले पुस्तकालय २ वटा भवनमा संचालित छ , पहिलो भवनमा विद्यार्थी संचालित छ । शान्त अनि स्वच्छ वातावरणमा संचालित यस पुस्तकालयमा विद्यार्थीहरुलाई निःशुल्क पुस्तक पढ्न पाइन्छ । त्यतिमात्र हैन, आफैंले पुस्तक ल्याएर परीक्षाको तयारी गर्नेहरु भेटिन्छन् ।
पाठकका बच्चाका लागि कोठा छुट्याइएको छ । यहाँ अभिभावकहरुले बालबालिकालाई पढ्नका लागि ल्याउने गरेका छन् । नवनिर्मित भवनमा धेरै प्रकारका पाठ्यपुस्तक छन् । महिनाको तीनसय तिरेपछि पुस्तक घर लान पाइने व्यवस्था छ । प्रविधिप्रेमी पाठकका लागि इ पुस्तकालय पनि संचालित छ । नयाँपुस्तामा पठन संस्कृतिमा देखिएको कमी पूरा गर्न अभिभावकहरुले आफ्ना सन्तानलाई पुस्तकालयतर्फ डोर्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्