Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता


533
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलवार निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन् ।

दुबै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

नेसपा अध्यक्ष डा. भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए ।

दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुने छन् ।

आगामी निर्वाचनका लागि काँग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन् । नेपाली कांग्रेसले पनि आज नै दल दर्ता गराउनेछ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।