
काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार बिहानबाट राजधानीको फोहोर उठाउन सुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विर्सजन थालिएको हो ।
गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।
लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन सुरू गरेको हो ।
कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्