Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


काठमाडौं उपत्यका भित्रका लकडाउन प्रभावितको घर घरमा पांचथर विश्व संजालको राहत


0
Shares

काठमाडौं । पाँचथर जिल्लामा जन्मिएर विश्वभर छरिएका नेपालीहरुको संस्था जनसम्पर्क समिति पांचथर विश्व संजालले काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने पाँचथरका परिवारलाई राहत वितरणलाई निरन्तरता दिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण पीडित बन्न पुगेका पाँचथरबासीलाई संजालले घर घरमै खाद्यन्न लगायतका सामाग्रीहरु पुर्‍याइरहेको जनसम्पर्क समिति पांचथर विश्व संजालका संयोजक एकराज नेम्बाङले जानकारी दिए ।

उनले उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका अति विपन्न, मजदुर तथा डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत उपलब्ध गराएको जानकारी दिए । उनले भने, ‘यातायातको समस्या र महामारीको त्रासका बीच मानवीय सेवाभावले सहयोग गर्नु हाम्रो जिम्मेवारी ठानी सक्रिय भएका हौं ।’

विश्वभर छरिएका पाँचथरबासी, पाँचथर जिल्लासँग सम्बद्ध संघ संस्था तथा मनकारी ब्यक्तिहरुले गरेको सहयोगबाट पहिलो चरणमा १७ घरका ४६ सदस्य र दोस्रो चरणमा ५१ घरका १३७ सदस्यलाई राहत पुर्‍याइएको संजालका यातायात विभाग प्रमुख सूर्यप्रकाश चेम्जोङले जानकारी दिए । उनले भने, ‘राहत लिएर जाँदा थुप्रै समस्याहरु झेल्नुपरे पनि पीडित परिवारलाई थोरै भएपनि खुशी दिन सकेकोमा गर्व लागेको छ ।’

राहत वितरणका क्रममा पाँचथरबासी बाहेक अन्य जिल्लाका प्रभावितहरु पनि आएर सरकारबाट राहत नपाएको दुखेसो पोख्ने गरेकाले थोरै भएपनि उपलब्ध गराएको चेम्जोङले बताए ।

४० देशमा प्रतिनिधी रहेको पांचथर विश्व संजालले विश्वभरी महामारी फैलिएको यस्तो अवस्थामा लकडाउनबाट प्रभावित भइ जीवनयापन कठिन भइरहेकाले आफ्नो दायित्व ठानी राहत वितरण थालिएको संजालका कोषाध्यक्ष तथा प्रवक्ता मोती चाम्लिङले बताए ।

विश्वभर छरिएका पाँचथरबासीहरुलाई नै थप सहयोग मागेर राहत वितरणलाई तिब्रता दिने पनि उनले बताए । संजालले यसअघि पनि जिल्लाको फलैंचामा पहिरो पीडितहरुका लागि राहत संकलन सहयोग पुर्‍याएको थियो ।