रोमन आचार्य (इमेज)
काठमाडौं, जेठ ७ । त्रिदेशीय सीमाविन्दु लिपुलेक विवादमा चीनले पनि चासो बढाएको छ ।
लिपुलेकलाई समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेसँगै चीनले नेपाल–भारत सीमा विवादमा जटिलता थप्ने गरी एकपक्षीय काम नगर्न भनेको छ ।
भारतले भने नेपाल चीनको उक्साहटमा लागेको आरोप लगाइरहेको छ ।
बुधबार नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सरकारसँग उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यका आधारमा नक्सा जारी गरेको बताइन् ।
यता, निरन्तर नेपाली भूमि अतिक्रमण गरिरहेको भारत भने नेपालले नयाँ नक्सा जारी गरेकोमा खुसी देखिँदैन । चीनको इसारामा नेपालले नक्सा जारी गरेको भारतको बुझाइ छ ।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको विवादास्पद अभिव्यक्ति दिएसँगै भारतको आगामी रणनीतिलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
भारतीय मिडियाले पनि नेपालले चीनको इसारामा नक्सा सार्वजनिक गरेको प्रचारबाजी गरिरहेका छन् । जसको तरंग बेइजिङसम्म पुगेको छ ।
चीनले त्रिदेशीय विन्दुमा एकपक्षीय काम नहोस् भन्दै आधिकारिक धारण सार्वजनिक गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सञ्चारकर्मीहरुमाझ परिस्थिति जटिल बन्ने गरी एकपक्षीय कदम नचाल्न भनेका छन् ।
चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्की भारतको एकपक्षीय कदमलाई नाजायज प्रमाणित गर्न चीनको प्रतिक्रिया आएको हुनसक्ने तर्क गर्छन् ।
लिपुलेक चीन र भारतका लागि रणनीतिक महत्वको भू–भाग हो । जुन नेपालको माटो हो ।
पूर्वराजदूत कार्की नेपाल–भारत विवाद समाधान गराउनु नै चीनको आगामी कदम हुने बताउँछन् ।
भारतका लागि पूर्वराजदूत लोकराज बराल पनि कूटनीतिक समाधान नै अन्तिम विकल्प भएको तर्क गर्छन् ।
नक्सा जारी गरेसँगै सरकारले कूटनीतिक अग्निपरीक्षाको सामना गर्नुपरेको विज्ञहरुको तर्कलाई नकार्न सकिँदैन । नेपालले नयाँ नक्सामार्फत् भारतलाई आफ्नो सन्देश स्पस्टरुपमा दिएको छ ।
अबको दिनमा चीनले खेल्ने भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्