१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सत्ता गठबन्धनको बैठक : सिट बाँडफाँटको मोडालिटीमै विवाद


819
Shares

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तयार गर्न बसेको सत्ता गठबन्धन दलका नेताबीच मतान्तर देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकमा सदस्यहरुबीच आगामी निर्वाचनको सिट बाँडफाँटमा कुन मोडालिटी अपनाउने भन्ने विषयमा मतान्तर देखिएको हो ।

सिट बाँडफाँटमा २०७४ सालको संसदीय निर्वाचनको मतलाई आधार मान्ने कि गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने भन्नेमा विवाद छ । कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने धारणा राख्दै आएको छ भने माओवादी केन्द्र र नेकपा एसले हाल सदनमा उपस्थितिलाई आधार मान्नुपर्ने धारणा राखेका छन् ।

माओवादी केन्द्रको तर्फबाट कार्यदल सदस्य देव गुरुङले गठबन्धनका सबै दलको सिट सुरक्षित गर्दै एमालेले जितेका ठाउँमा भागबण्डा गर्ने मोडालिटीमा सैद्धान्तिक सहमति नजिक पुगेको दावी गर्नुभयो ।

कांग्रेसको तर्फबाट कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको मोडालिटीमा सकारात्मक छलफल भएको भन्दै कार्यदलले तोकिएको जिम्मेवारी चाँडोभन्दा चाँडो पूरा गर्ने बताउनुभयो ।

सत्तारुढ गठबन्धनले आउँदो निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । २३ गते बसेको कार्यदलको बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक चयन गरेको थियो ।