Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कोरोनाविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको दावी


0
Shares

एजेन्सी । कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको खोप उत्पादक कम्पनीले दावी गरेको छ ।

पहिलो चरणमा खोप परिक्षण गरिएका ८ जना मानिसमा रोग प्रतिरोधक क्षमता वृद्धि भएको दावी अमेरिकी कम्पनी मोडर्नाले गरेको हो ।

परीक्षण नतिजा हिजो सार्वजनिक गर्दै कम्पनीले परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको बताएको छ ।

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो । यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो ।

उक्त एन्टिबडीले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ ।

कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ ।

यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ ।

कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ । दोस्रो चरणमा ६ सय जनामा खोप परीक्षण गरिनेछ ।

त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ ।

अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ ।