दीपेन्द्र अधिकारी र दिलिप पोखरेल (इमेज)
काठमाडौं, जेठ ५ । संवैधानिक प्रावधान पूरा नगरी अन्य सुरक्षा निकायलाई सहयोगको नाममा नेपाली सेना परिचालित भएको पाइएको छ ।
बन्दाबन्दी कार्यान्वयनका नाममा सडकमा सेना देखिन थालेकोप्रति सामाजिक सञ्जालदेखि संसदमा समेत प्रश्न उठेको छ ।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिनिधिसभाको बैठकमा भाग लिँदै सडकमा सेना उतार्नुको जवाफ खोजे ।
सेना परिचालन गर्न सुरक्षा परिषद्बाट निर्णय हुनुपर्ने संवैधानिक प्रावधान छ ।
स्थानीय प्रशासन ऐनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमतिमा सेना परिचालित हुने प्रावधान छ ।
संवैधानिक प्रक्रियाअनुसार सेना परिचालित भएको देखिँदैन ।
तर, काठमाडौंको महाराजगन्ज, कालीमाटी, बानेश्वर र थापाथलीचोकमा सेनाले जाँच सुरु गरेको देखिन्छ ।
बन्दाबन्दी कार्यान्वयन गर्न देशभर सात हजार ९०४ सैनिक परिचालित गरिएको सैनिक प्रवक्ताको भनाइ छ ।
संविधान र कानुनी प्रक्रिया पूरा नगरी सेना परिचालन गरिएको हो भने यसले नेपाली सेनालाई विवादित बनाउने छ ।
राज्यको महत्वपूर्ण अंगलाई बदनाम हुन नदिन सेना किन सडकमा परिचालित भयो भनेर स्पस्टता आवश्यक रहेको ठान्छन्, सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यात ।
हो, निकै चुनौतीपूर्ण अवस्थामा देशको सुरक्षार्थ सेनालाई खटाउन सकिन्छ । तर, त्यो वैधानिक प्रक्रियाबाट हुन सकेमात्र सेना विवादबाट जोगिन सक्छ । यसप्रति सरकार र सेना स्वयं गम्भीर बन्नुपर्दछ ।









प्रतिक्रिया दिनुहोस्