१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कोरोना महामारी रोक्न चीनले गरेका कामको समीक्षा गर्न तयार छौंः राष्ट्रपति सी


0
Shares

एजेन्सी, जेठ ५ । चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन् ।

सोमबार विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनलाई भिडिओ सम्बोधन गर्दै राष्ट्रपति सीले तर त्यस्तो समीक्षा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि मात्र गर्न सकिने बताएका हुन् ।

त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण र निष्पक्ष भएर गर्नुपर्ने सीले बताए । कोरोनाभाइरसको नियन्त्रणका लागि चीनले खुला, पारदर्शी र जिम्मेवारपूर्ण तरिकाले  काम गरेको दाबी पनि उनले गरे ।

डब्लुएचओ र सम्बन्धित देशहरूलाई समयमै जानकारी उपलब्ध गराएको जिकिर गर्दै सीले कोरोना महामारीको नियन्त्रणका लागि विकासशील मुलुकहरूलाई चीनले आगामी दुई वर्षमा २ अर्ब अमेरिकी डलर सहायता दिने घोषणा पनि गरे ।

अमेरिका, अष्ट्रेलिया र पश्चिमी युरोपेली मुलुकले कोरोनाभाइरसको उद्गम थलो चीनले महामारी रोक्न अपनाएको कदमबारे छानबिन गर्नुपर्ने माग गरिरहेका थिए ।

अमेरिकाले शुरूमै चीनले पारदर्शी ढंगले सूचना नदिँदा कोरोनाले महामारीको रूप लिएको र विश्व स्वास्थ्य संगठनले चीनको पक्षपोषण गरेको आरोप लगाइरहेको छ ।

कोरोनाभाइरसविरूद्ध सबैको हित हुने गरी चीनले खोप बनाउने जानकारी दिँदै राष्ट्रपति सीले त्यस्तो खोप चीनमा बने त्यसको उत्पादन र वितरण सार्वजनिक सामान सरह गरिने बचन पनि दिए ।

विकासशील देशहरूमा खोपको उपलब्धता र पहुँच सुनिश्चित गर्न चीनले योगदान गर्ने पनि उनले बताए । राष्ट्रपति सीले डब्लुएचओको नेतृत्वले कोरोना महामारीविरूद्ध चालेका कदमको प्रशंसा पनि गरे ।