Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया


0
Shares

काठमाडौं, जेठ ५ । शुक्रबार संसदमा प्रस्तुत सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमप्रति सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदले नीति तथा कार्यक्रमको विरोध गरेका छन् भने सत्तारुढ दलका सांसदले समर्थन गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा. शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताका दुःखप्रति संवेशनशील नभएको टिप्पणी गरे ।

महामन्त्री कोइरालाले महासंकटको समयमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

महामन्त्री कोइरालाले विदेशमा रोजगारी गुमाएका नेपाली नागरिकलाई सम्मानपूर्वक ल्याउन सरकारसँग माग गरे ।

कांग्रेसकै सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा ओर्लेर जनतालाई किन अपमानित गरिरहेको छ ? भन्दै प्रश्न गरे ।

कांग्रेसकी सांसद रंगमती शाहीले सीमा विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्ता गर्न डराएको आरोप लगाइन् ।

सत्तारुढ दल नेकपाका महासचिव एवं सांसद विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम समाजवादको आधार भएकाले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा पारित गर्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गर्दै सांसद पौडेलले भूमि बैंक स्थापना, कृषि रोजगारी वृद्धि र नेपालको भूमि रक्षा गर्न अडान देखाएकोजस्ता राम्रा कार्यक्रम समेटिएको उल्लेख गरे ।

राजपाका सांसद महेन्द्र राय यादवले सिमानामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको जिकिर गरे ।

राजपाका सांसद शरत्सिंह भण्डारीले कोरोना महामारी रोकथामभन्दा पनि सरकारमा नयाँ–नयाँ ‘रेकर्ड’ कायम गर्ने ‘भूत’ सवार भएको आरोप लगाए ।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले सरकारले महामारीको संकटसँग जुध्न हिम्मत नगरेको आरोप लगाउँदै कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गरिन् ।

नेकपाका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुल्ने दाबी गरे ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले छिमेकीलाई सोधेर स्वाधिनताको रक्षा हुन नसक्ने भन्दै आफ्नो मुलुकको नक्सा सार्वजनिक गर्न कसैसँग अनुमति लिनुनपर्ने जिकिर गरे ।

नेकपाकै सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफूमाथि लागेको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताए ।