सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, भदौ १ । आजबाट मुलुकी संहिता कार्यान्वयनमा आएको छ ।
मुलुकी संहितामा रहेका कतिपय विषयहरुप्रति पेसागत संघ–संस्थाहरुबाट विरोध भइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रता हनन् हुने विषय भने परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ ।
मुलुकी संहिताको २९३ देखि ३०८ सम्मका दफामा समेटिएका विषयहरुले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै पत्रकारिता आवद्ध संघ–संस्थाहरुले विरोध गरिरहेका छन् ।
जुन दफाहरुमा दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच भएको कुराकानी अनुमतिबिना सार्वजनिक गर्न नपाइने, फोटो खिच्नुअघि अनुमति लिएरमात्र खिच्नुपर्ने, व्यावसायिक कामको सिलसिलामा भएका गोप्य विषयसमेत अनुमतिबिना सार्वजनिक गर्न नपाइनेजस्ता विषयहरु छन् ।
यी प्रावधानले कुनै न कुनैरुपमा प्रेसमाथि अंकुश लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संहितालाई संशोधन गरेर सुधार गर्नुपर्ने बताएको छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रेसप्रति अनुदार देखिएका व्यवस्था संशोधनको पक्षमा आफूहरु रहेको बताए ।
सत्तारुढ दलले भने मुलुकी संहित भर्खर कार्यान्वयनमा जाँदै गरेकाले केही समस्या आए त्यसलाई सुधार गर्नसकिने बताएको छ ।
नेकपाका प्रमुख सचेतक देव गुरुङ सबै पक्षसँग छलफल गरेर संसदले नै बनाएको कानुन कार्यान्वयनमा आएको भन्दै त्यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
कार्यन्वयनकाक्रममा कुनै पक्षले अन्याय महसुस गरे आफूहरु त्यसलाई सुधार गरेर जाने पक्षमा नै रहेको बताउँछन्, गुरुङ ।
तत्कालनी अवस्थामा यो संहिता मस्यौदा कार्यदलका सदस्यसमेत रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्ण स्वतन्त्र प्रेसलाई हस्तक्षेप नगर्नेगरी कानुन बनेको भन्दै प्रयोगमा आउँदा हस्तक्षेप भए संशोधन गर्नसकिने बताउँछन् । तर, अहिलेलाई भने कार्यान्वयनमा जान दिनुपर्ने मत उनको छ ।









प्रतिक्रिया दिनुहोस्