चितवन । चितवनमा लागूऔषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक वर्ष लागूऔषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् ।आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् । गत वर्षमात्रै लागूऔषध मुद्दामा १५४ जना पुरूष पक्राउ परेका छन् । जसमा महिला ११ जना र पाँच जना बालक रहेका छन् । १७ वर्षको एक जना, १६ वर्षको दुई जना र १५ वर्षको दुई जना बालक रहेका छन् ।
बरामद भएका लागूऔषधमा गाँजा २५० किलो १३५ ग्राम, चरेस १४५ केजी, खैरो हिरोइन ६ ग्राम ६१० मिलिग्राम, डाइजेपाम एक हजार ४१९ एम्पुल, व्युपिनोर्फिन एक हजार ४३१, फेनारगन एक हजार २३३ र नाइट्रोजेपाम सात हजार ७०५ ट्याब्लेट रहेको प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । यसैगरी चितवनमा मुद्दा दर्ताको संख्या बढेको छ । आर्थिक वर्ष ०७८/०७९ मा १९.९२ प्रतिशतले मुद्दा दर्ता संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७६/०७७ को तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा ११.७९ प्रतिशतले मुद्दा दर्ता संख्यामा कमी आएकोमा गत आर्थिक वर्षमा भने झन्डै २० प्रतिशतले मुद्दा दर्ता बढेको हो ।
आर्थिक वर्ष ०७८/०७९ मा एक हजार ३८६ मुद्दा दर्ता भएको छ । यस आर्थिक वर्षमा ७२२ थान मुद्दा फछ्र्यौट भएको छ भने ६६४ थान फछ्र्यौट हुन बाँकी रहेको अधिकारीले बताए । आर्थिक वर्ष ०७७/०७८ मा एक हजार १०१ मुद्दा दर्ता भए । यसवर्ष जम्मा ६४५ थान मुद्दा फछ्र्यौट भए, बाँकी ४ सय ६९ रहेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा एक हजार २६३ दर्ता भए पनि यस आर्थिक वर्षमा एक हजार १०१ वटा मुद्दा फछ्र्यौट भएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्