Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


निर्वाचन प्रयोजनका लागि आइतबारदेखि दल दर्ता आह्वान, दर्ता साउन ३१ गतेसम्म


52
Shares

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ । आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी, सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

यसरी दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।