Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


नेकपा एकीकरणको दुई वर्ष पूरा, भावनात्मक एकतामा खडेरी


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, जेठ ३ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको आज दुई वर्ष पुगेको छ ।

यो अवधिमा पार्टीभित्र थाती रहेका एकताका बाँकी काम गर्नेभन्दा पनि आन्तरिक शक्ति संघर्ष र समूहगत अन्तरद्वन्द्व चर्किएको छ ।

फुटको संघारबाट जसोतसो जोगिएको नेकपाभित्र दुई वर्षको अवधिमा भावनात्मक एकताको कमी देखिएको छ । पार्टी विधि र विधानअनुरुप चल्न नसक्दा दुई वर्षभित्र गर्नुपर्ने पहिलो महाधिवेशन हुन सकेन ।

दुई वर्षको अवधिमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको शक्तिगत स्वार्थमा रुमलियो । अन्य वरिष्ठ नेताहरु पनि एकतालाई पूर्णता दिनका सट्टा पदीय लुछाचुँडीमा लिप्त रहे ।

आन्तरिक शक्ति संघर्षले तीन महिनाभित्रै टुंग्याउने भनिएको पार्टी एकताले पूर्णता पाउन सकेन । केन्द्रीय आयोगहरु र सल्लाहकार परिषद्लेसमेत पूर्णता पाउन सकेको छैन ।

३३ ओटा विभाग र प्रतिष्ठानहरुको एकीकरण हुन नसक्नु तथा कतिपय भातृसंगठनको एकता नै नहुनुमा शक्ति संघर्ष कारक बन्यो ।

तीन–तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पार्टी एकतापछि मुस्किलले दुईपटक बस्नु, पछिल्लो केन्द्रीय कमिटी बैठकले २०७७ चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने र आगामी भदौदेखि स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु गर्ने निर्णयहरु पनि अलमलमा परेका छन् ।

पार्टीभित्रको आन्तरिक लफडाले आफ्नै नेतृत्वमा बनेको सरकारलेसमेत निरीहता प्रस्तुत गरिरहेको छ । नेकपाको संगठन संरचना भद्रगोल र लथालिंग अवस्थामा पुगेको छ ।

पार्टीमा आन्तरिक अनुशासन कमजोर बन्दा नेकपाभित्र भावनात्मक एकताको त झनै खडेरी देखिएको छ ।