Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


रहस्यमय दासढुंगा दुर्घटनाः ओलीले छानबिन गरे तर प्रतिवेदन सार्वजनिक गरेनन्, किन ?


0
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, जेठ ३ । तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको आज २७ वर्ष पुगेको छ ।

उक्त रहस्यमय दुर्घटनाको यथार्थ तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।

२०५० जेठ ३ गते तत्कालीन एमाले पार्टीका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो ।

उक्त घटनाको २७ वर्षकोबीचमा तत्कालीन एमाले र हालको नेकपा नेताहरुले कुनै न कुनैरुपमा यो मुद्दा उठाइरहेका छन् ।

दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि छुट्टा–छुट्टै चारओटा छानबिन समितिहरु गठन भए । तरपनि दासढुंगा दुर्घटना सामान्य दुर्घटना थियो या योजनाबद्ध हत्या थियो भनेर छुट्याउने आधार भने कसैले पेस गर्न सकेनन् ।

सरकारी छानबिन समितिले ‘दुर्घटना’ नै भएको प्रतिवेदन दिँदा तत्कालीन एमालेले त्यसको चर्को विरोध गर्‍यो । र, आफैं पार्टीको नेता केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको संयोजक तोकेर पठायो ।

ओलीले छानबिन पनि गरे । तर, प्रतिवेदन सार्वजनिक भने गरेनन् ।

घटनाको २७ वर्ष पुग्दैगर्दा सरकारको नेतृत्व गर्दै ओली दोस्रोपटक प्रधानमन्त्री छन् भने भण्डारीका धर्मपत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति छिन् ।

यस्तो अवस्थामा पनि सत्यतथ्य बाहिर नआए दासढुंगा दुर्घटनाको वास्तविकता बाहिर नआउन सक्छ ।

तत्कालीन सरकारले गठन गरेको आयोगले घटनालाई दुर्घटना भन्यो भने तत्कालीन एमालेले घटनालाई षड्यन्त्रपूर्ण ‘हत्या’ भन्यो । र, आजसम्म पनि नेकपाका कार्यकर्ता यसलाई दुर्घटना मान्न तयार छैनन् ।

उक्त दुर्घटनाका एकमात्रै साक्षी जीपचालक अमर लामालाई दोषी ठहर गर्दै जेलसमेत हालियो ।

उनी जेलबाट छुटेपछि उनको हत्या भयो र दासढुंगा दुर्घटनाको ‘च्याप्टर क्लोज’जस्तै गरियो ।

पार्टी एकताको दोस्रो वर्षगाँठका दिन नेकपाले जारी गरेको वक्तव्यमा अध्यक्षद्वयले यथार्थको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता फेरि जनाएका छन् ।

घटनाको छानबिनमा नेतृत्व कहिल्यै गम्भीर नरहेको आरोप लाग्ने गरेको छ ।

मदन–आश्रितको स्मृतिलाई कर्मकान्ड नबनाइ उनीहरुले देखाएको बाटो अंगाल्नु नै नेकपाको लागि उपयोगी हुनसक्छ ।

दासढुंगाको रहस्यमय दुर्घटनाको वास्तविकता बाहिर आए मदन–आश्रितप्रति सही अर्थमा श्रद्धाञ्जलि हुनसक्छ ।

भिडियो हेर्नुहोस्