Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


‘नेपालमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको छैन’


0
Shares

हेटौँडा, जेष्ठ २ । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नियन्त्रणबाट बाहिर नगइसकेको बताए ।

केही मात्रामा सङ्क्रमितको सङ्ख्या बढेको भए पनि सबै नागरिकको साथ सहयोग प्राप्त भइरहेमा कोरोना सङ्क्रमण फैलनबाट जोगिन सकिने उनको भनाइ छ ।

मन्त्री जम्मकट्टेलले आफूले अन्य प्रदेशबाट वाग्मती प्रदेश प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको र त्यसको प्रत्यक्ष अनुगमनसमेत भइरहेको बताउँदै लकडाउनलाई समेत कडा पारिएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले कोरोना भाइरसका कारण सिर्जित समस्याको दीर्घकालीन समाधान खोज्ने बताए ।

मन्त्री जम्मकट्टेलले कोरोनाको माहामारी देशको अर्थतन्त्रलाई मजबुत बनाउने अवसरका रुपमा लिइने धारणा राखे । भारत तथा अन्य देशबाट स्वदेश फर्किएका नागरिकमा अब विदेश नगएर आफ्नै देशमा केही गरौँ भन्ने भावना विकसित भएको पाइएकाले त्यो भावनाको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइने उनको भनाइ छ ।

“खाडीमुलुकलगायत कतिपय देशबाट मलाई फोन आएका छन्, उनीहरुले म नेपाल आएपछि अब चाहीँ विदेश फर्कन्न भन्ने कुरा गरेका छन् । अब उनीहरुलाई उत्पादनमा लगाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्छ”, उनले भने ।

उनले सामाजिक न्यायसहितको समाजवादमा जाने उद्देश्यसहित अगाडि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार परिवर्तन नहुने धारणा राखे ।

नेकपाले पाँच वर्षको स्थिर सरकार सञ्चालन गर्ने म्याण्डेट पाएको उल्लेख गर्दै मन्त्री जम्मकट्टेलले यो कार्यकालपछि पनि नेकपाले नै सरकार बनाउने उल्लेख गरे । “यो पाँच वर्षमात्रै होइन नेकपाले यो देशमा चिरकालसम्म सरकार सञ्चालन गर्छ”, उनले भने । रासस