काठमाडौं, जेठ २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत सरकारले रेल र बसमार्फत्को सुविधा दिएपछि भारतका विभिन्न सहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढंगले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्तिमार्फत् सीमानाकामा रहेका नेपालीलाई जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल पहल नगर्ने हो भने एकातर्फ उनीहरुलाई सिमानामा खान–बस्न कठिनाइ हुने र अर्काेतर्फ लुकीछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोना संक्रमणको जोखिम झनै बढ्ने उल्लेख गरेका छन् ।
तसर्थ, सीमानाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित ‘क्वारेन्टाइन’मा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षितरूपमा घर पुर्याउने प्रबन्ध गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
लुकीछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावनासाथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्