Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नेपाल प्रहरीको टोली पनि दार्चुलाको छाङरु र तिंकर पुग्यो, चौकी जीर्ण भएपछि त्रिपालमा बसाई


0
Shares

काठमाडौं । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि दार्चुलाको व्यास गाउंपालिकाको छाङ्गरु र तिङ्कर चौकी गएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै चौकीका प्रहरी ती स्थान गएका हुन् ।

प्रहरी नायब निरीक्षक हर्कसिङ महताको नेतृत्वमा नौ जनाको टोली तिंकरको छियालेक र प्रहरी सहायक निरीक्षक देवदत्त भट्ट नेतृृत्वमा सीतापुलमा नौ जनाको टोली प्रस्थान गरेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

छाङ्गरुको सीतापुल र तिंकरको छियालेकमा बस्दै आएका प्रहरी गत मङ्सिर महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो ।

चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी २०२४ साल र छाङ्गरुको सीतापुल प्रहरी चौकी २०२७ सालमा स्थापना भएका हुन् । अहिले दुवै प्रहरी चौकीका भवन जीर्ण छन् ।

भवन नहुँदा गत वर्षदेखि प्रहरीले त्रिपालको भरमा बस्तीको संरक्षणमा खटिएका थिए । जीर्ण भवनमा त्रिपाल राखेर बास बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

छाङ्गरु र तिंकर गाउँमा विगत लामो समयदेखि वर्षमा छ महिना मात्र प्रहरीको उपस्थिति हुँदै आएको छ ।