१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


बुटवलमा एसइई परीक्षार्थीलाई टेलिभिजनमार्फत कक्षा सञ्चालन


0
Shares

बुटवल, जेष्ठ १ । कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा बिहीबारदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ । 

परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले यहाँका लुम्बिनी सामुदायिक टेलिभिजन र बुद्ध टेलिभिजनमार्फत बिहान र दिउँसो दुई चरणमा कक्षा सञ्चालन गरेको हो ।   

परीक्षा दिने मितिसमेत तोकिएर स्थगन भएपछि विद्यार्थीमा तनाव हुन नदिन र पढाइमै केन्द्रित गराउन श्रव्यदृष्यका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

यहाँका विद्यालयमा पढाइ हुने हरेक विषयका शिक्षकलाई समय तालिका निर्धारण गरेर विद्यार्थी लक्षित टेलिभिजन कार्यक्रम गरिने उनको भनाइ छ । 

परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन बेलुकादेखि लकडाउन शुरु भएपछि रोकिएको थियो । परीक्षा रोकिएसँगै देशभरका सबै विद्यालय बन्द छन् । विद्यार्थी घरमै रहेकाले अभिभावकसमेत चिन्तित छन् ।

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरेर बुटवलका टेलिभिजनबाट पठनपाठन शुरु गरिएको उपमहानगर, शिक्षा तथा जनसंंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।

उनले शिक्षकलाई विषयगत रुपमा समय तालिका निर्धारण गरेर खटाइएको बताए । बिहीबारदेखि शुरु भएको शिक्षण सिकाइ क्रियाकलाप एक महिनासम्म चल्ने छ ।

अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, सामाजिक अध्ययन र ऐच्छिक गणितलगायत विषयको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिने छ ।

बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसइई परीक्षाको तयारीमा रहेका करीब चार हजार विद्यार्थीलाई लक्ष्य गरेर यस्तो कक्षा सञ्चालन गरिएको हो । रासस