काठमाडाैं । स्थानीय तहमा निर्वाचित पदाधिकारीले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।
नगरपालिकामा करारमा कार्यरत कर्मचारीले १० दिन यता जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ।
कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्कासनमा परेका कर्मचारीले आन्दोलन गरिरहेका छन् । निस्कासनमा परेका कर्मचारीले राजनीतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन् ।
नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यक्ता नपरेकोले हटाएको बताउनुभयो । उहाँले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताउनुभयो । उहाँले करार म्याद थप नहुने दावी गर्नुभयो ।
इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै यहि साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ । विवादको समाधानका लागि मेयर भण्डारीले भने साउन २० गतेसम्मको समय माग गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्