Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सीमा विवाद सम्बन्धमा संसदमा संकल्प प्रस्ताव दर्ता, गगन थापाद्वारा जरुरी महत्वको प्रस्ताव


0
Shares

काठमाडौं, वैशाख २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले लिपुलेक, लिम्पियाधुरा सीमा समस्याबारे संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

सोमबार सांसदहरु दिलेन्द्रप्रसाद बडू, प्रकाश रसाइली, मीन विश्वकर्मा र रामबहादुर विष्टले सीमा समस्यासम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

यसैबीच, कांग्रेस सांसद गगनकुमार थापाले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्न माग गर्दै संसदमा जरुरी महत्वको प्रस्ताव पेस गरेका छन् ।

सांसद थापाले सोमबार कोरोनाभाइरस महामारीबाट प्रभावित मुख्यगरी खाडी र अन्य मुलुकमा रहेका नेपालीलाई तत्काल सुरक्षितरुपले स्वदेश फिर्ताको व्यवस्था माग गर्दै प्रतिनिधिसभामा जरुरी महत्वको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावको समर्थकमा कांग्रेसकै सांसदद्वय डिला संग्रौला र प्रकाश रसाइली छन् ।

प्रस्तावका समर्थक प्रकाश रसाइलीले विदेशमा रहेका नेपालीहरुको वास्तविक तथ्यांक संकलन, जोखिमको अवस्था हेरी वर्गीकरण र उद्धार, राहत तथा स्वदेश फिर्ता योजना र कार्यक्रम ल्याउन माग गरिएको जानकारी दिए ।

यस्तै, आकस्मिक संयन्त्र र प्रणालीको निर्माणदेखि भारतमा अलपत्र परेका र नेपाल आउन चाहने नेपालीलाई स्वदेश फर्काउन सरकारले उचित पहल गर्नुपर्नेबारे सरकारलाई सुझाव दिइएको सांसद रसाइलीले जानकारी दिए ।