दीपक श्रेष्ठ र भरत केसी (इमेज)
काठमाडौं, वैशाख २९ । नेपालमा कोरोना संक्रमितको संख्या बढदै जाँदा काठमाडौंमा भने चहलपलह ह्वात्तै बढेको छ ।
सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौंमा चहलपहल बढेको हो ।
तर, संक्रमण फैलिएका जिल्लाबाटसमेत मानिस आउनेक्रम नरोकिएको बेला यसरी पूर्वतयारीविना नै ‘लकडाउन’ खुकुलो पार्दा संक्रमणको जोखिम भने बढेको देखिन्छ ।
सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णय गरेसँगै काठमाडौंमा चहलपहल बढेको हो ।
उपत्यकाका मुख्य र भित्री सडकहरुमा गाडीको ताँती र मानिसको भीडभाड बढेको छ । अत्यावश्यकबाहेकका सामग्री पसलसमेत पनि धमाधम खुल्न थालेका छन् ।
बिहान, साँझमात्रै खुल्ने खाद्यान्न पसल जुनसुकै समय खोल्न सकिने भएपछि दिनभरजसो मानिसको आवत–जावत बाक्लिन थालेको छ ।
लकडाउन खुकुलो बनेको भन्ने गलत बुझाइका कारण अत्यावश्यक कामबाहेक पनि मानिसहरु घरबाहिर निस्कन थालेका छन् ।
तर, महामारीको यो समयमा सुरक्षा सतर्कता अपनाउँदै अत्यावश्यकबाहेकको काममा घरबाहिर ननिस्किनुपर्ने नियम पालन हुन सकेको देखिँदैन ।
सामाजिक दूरी कायम गर्न पनि सर्वसाधारणले हेलचेक्र्याइँ गरेको देखिन्छ ।
बाहिरी जिल्लाबाट मानिसहरु काठमाडौं भित्रिरहेका छन् । यसले पनि काठमाडौं असुरक्षित देखिन्छ । काठमाडौंमा कोरोना परीक्षण पनि निकै थोरै भएको छ ।
ट्राफिक प्रहरीले सवारी–पासको दुरुपयोग र चेकजाँचमा कडाइ गरेको बताएको छ । तर, यसक्रममा आवश्यक सुरक्षा सावधानी अपनाउन सकेको देखिँदैन । सामाजिक दूरी पालनामा कमजोरी देखिन्छ ।
सरकारी नियम पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भने सरकारले पनि नियम पालना गराउँदा समयमै पूर्वतयारी गर्नु भने उत्तिकै आवश्यक हुन्छ ।









प्रतिक्रिया दिनुहोस्