Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपालको भूमि तत्काल फिर्ता गर्न भन्दै विद्यार्थी संगठनले बुझाए परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ लगायत सात विद्यार्थी संगठनले भारतले नेपाललाई थाहै नदिइ चीनको मानसरोवर जाने बाटो निर्माण गरेको विषयमा विरोध गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका छन् ।

विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीको कार्यकक्षमै पुगी उक्त ज्ञापन पत्र बुझाएको नेविसंघका महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिए ।

मिचिएको भूभाग फिर्ता गर्न र नेपालको सार्वभौमसत्तालाई सम्मान गर्ने भारतलाई बाध्य बनाउन यो सरकारले  गम्भीरता र तदारुकता देखाओस भनेर ज्ञापन पत्र बुझाएको उनले बताए ।

विद्यार्थी संगठनहरुले भारतसँग छलफल गर्न तत्काल सर्वदलीय, सर्वपक्षीय बैठक राखी  उच्च कुटनीतिक पहल गरी नेपाली भूमि फिर्ता गर्न जोडदार माग गरेका छन् ।

कालापानी क्षेत्रको नेपाली भूभाग समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गरेपछि त्यसबेला उठेको विद्यार्थी आन्दोलन र सर्वदलीय बैठकले दिएको म्याण्डेट अनुसार वर्तमान सरकारले भारतसँग  कुनै ठोस र परिणाममुलक पहल नगरेको कारण भारतको हेपाहा प्रवृतिले प्रश्रय पाएको विद्यार्थी संगठनहरुको ठहर छ ।

तसर्थ सरकारले पुनः त्यही गल्ती नदोहोर्याइ राष्ट्रियताका पक्षमा दृढ भएर उभियोस भनेर खबरदारी गछौं ज्ञापनपत्रमा भनिएको छ ।

यस विषयमा तदारुकता नदेखाए भारतीय हस्तक्षेपविरुद्ध विद्यार्थी आन्दोलन चर्कने नेविसंघ महामन्त्री तिमल्सिनाले बताए ।

उनले भने, ‘सरकार बाहिर रहँदा चर्का राष्ट्रिवादी कुरा गर्ने र सत्ता सम्हाल्दा लम्पसार पर्ने सरकारको नियत थप उदांगो भएको छ ।’