Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


न्यायाधीशविरुद्धको आक्रोश


481
Shares

काठमाडौं । आफ्ना कार्यकर्तालाई बढी धरौटी माग्ने न्यायाधीशलाई घर–घरबाटै थुतेर कुट्नुपर्ने अभिव्यक्ति दिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवको अभिव्यक्तिप्रति कसैले गम्भीर चासो देखाएको छैन।न्यायाधीशले सम्पादन गरेको न्यायिक कामप्रति चित्त नबुझ्ने पक्षले थप उपचारको बाटो अवलम्बन गर्नुपर्ने न्यायिक मर्यादाको विषय भए तापनि उग्र राजनीतिक पृष्ठभूमिको नेताबाट आएको अभिव्यक्तिले न्यायिक समुदायलाई खासै छोएन अर्थात् विज्ञप्तिसम्म निकालेर भए पनि न्यायिक मर्यादा बचाउको आग्रह गर्न कोही तत्पर भएको देखिएन। मानौँ, विषय चल्तेचलाते शैलीमा अघि बढिरहेको छ।

विप्लव जस्ता नेताबाट यसप्रकारको आक्रोश आउनु अस्वाभाविक होइन। राजनीतिक पृष्ठभूमि नै काट्ने र मार्ने शैली भएको नेताबाट न्यायाधीश कुट्ने अभिव्यक्ति त्यति विध्वंशात्मक नलाग्न सक्छ। एमसिसीको विरोध गर्दा टाउको फुटाउन तयार भएका आफ्ना कार्यकर्तालाई ठूलो रकम धरौटी मागेको आरोपमा उनले न्यायाधीशलाई घर–घरबाट थुतेर कुट्नुपर्छ भन्ने अभिव्यक्ति दिएका हुन। पढिरहेको एउटा विद्यार्थी एमसिसीको विरोधमा लड्दा दश लाख, पाँच लाख धरौटी तोक्ने न्यायाधीशलाई कुट्नुपर्ने उनको अभिव्यक्तिले न्यायालयप्रति समाजकै आक्रोश भने सार्वजनिक गरेको छ।

यसअघि प्रतिनिधि सभा विघटन्को मुद्दासर्वोच्च अदालतमा विचाराधीन हुँदा पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले समेत त्यस्तै प्रकृतिको अभिव्यक्ति सार्वजनिक गरेका थिए। गलत गर्ने न्यायाधीशलाई जनताले इजलासबाटै थुतेर सडकमा ल्याउन सक्छन् भन्ने ढुंगानाको अभिव्यक्तिको चौतर्फी आलोचना नभएको होइन। यद्यपि समाजले पचाउनै नसक्ने न्यायाधीशका गतिविधिका कारण पटक–पटक यस्ता सांकेतिक अभिव्यक्तिहरू आउन थालेका छन्। र, यस्ता अभिव्यक्तिसमेत समाजका लागि पाच्य बन्न थालेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।