Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी पक्राउ


0
Shares

काठमाडौं, वैशाख २७ । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘लकडाउन’ उल्लंघन गरेकाले उनीहरुलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

विद्यार्थी राष्ट्रिय झन्डासहित प्लेकार्ड बोकेर सो दूतावासअगाडि प्रदर्शन गर्न पुगेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ ।

सोहीक्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् ।

नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत् सार्वजनिक गरेको जनाइएको छ ।

यसबारे राससको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पस्ट विवरण दिन भारतीय दूतावासमार्फत् भारत सरकारसमक्ष माग गरिएको बताएका थिए । रासस