
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरका गल्लीभित्र पनि जाने र अग्ला घरसम्म पानी पुर्याउन सक्ने शक्तिशाली तीन दमकल आज मंगलबार काठमाडौं आइपुग्दैछन् । सात महिनाअघि इन्डोनेसियाबाट मगाइएका ती दमकल सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट काठमाडौंका लागि छुटेका छन् । ती दमकल पहिला राष्ट्रिय सभागृह परिसरमा राखिने बताइएको छ । ठेकेदार कम्पनीले हस्तान्तरण गरेपछि बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसन, रामहिटी र धर्मपथस्थित जुद्ध वारुणयन्त्र कार्यालयमा राखिने कामपा विपद् व्यवस्थापन विभागले जनाएको छ ।
विभाग प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो– ‘नयाँ दमकल आएपछि उपत्यकाका आगलागी र विपद्जन्य घटना नियन्त्रण गर्न सहज हुनेछ ।’ दुई हजार लिटर पानी अट्ने क्षमता भएका यी दमकलको मूल्य करिब ७ करोड रुपियाँ छ । उपत्यकामा अग्ला अग्ला भवन निर्माण हुन थालेपछि अत्याधुनिक दमकल खरिद गरिएको जानकारी दिँदै श्रेष्ठले भन्नुभयो– ‘नेपाल भित्रिएका दमकलमा ५ सय लिटर फोम हुनेछ । ती दमकलले १० तले अग्लो घरमा आगलागी हुँदा पनि सजिलै नियन्त्रण गर्नसक्ने क्षमता राख्दछन् ।’
एक महिनाअघि टेन्डर प्रक्रिया पूरा भएका ती दमकल स्पेसिफिकेसनअनुसार भए नभएको अवलोकन गर्न कामपाको इन्जिनियरको टोली इन्डोनेसियाको जाकार्ता पुगेको थियो । सो टोलीले स्वीकृति दिएपछि दमकल ल्याइएको हो ।शुरूमा कामपासँग आगलागी नियन्त्रण गर्न नौ वटा दमकल थिए । तीमध्ये ५ वटा चल्नै नसक्ने गरी थन्किएका छन् । गृह मन्त्रालयको मातहतमा रहेको जुद्ध वारुण यन्त्र कार्यालय विसं २०६५ कातिक ९ मा कामपाको मातहतमा आएको थियो ।
यो समाचार आजक नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्